कञ्चनपुर ।
गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ एयरपोर्ट रोडमा दिउँसै दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको चक्कु प्रहारबाट हत्या भयो ।
मोटरसाइकलमा यात्रा गरिरहेका पन्तलाई गोविरियाका २२ वर्षीय मनिष नाथ नेतृत्वको टोलीले चक्कु प्रहार गरी हत्या गरेको थियो । हत्यामा संलग्न चार जना स्थानीय युवा यतिबेला पुर्पक्षका लागि कञ्चनपुर जिल्ला कारागारमा रहेका छन् ।
घटनाको चार साता लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न ती युवाले ‘खैरो हिरोइन’ नामक लागुऔषध सेवन गरेको बताएको छ । प्रहरी स्रोतका अनुसार दीपक सवार मोटरसाइकलले ओभरटेक गरेको निहुँमा चक्कु प्रहार गरे पनि ती युवा केही समयदेखि गोबरिया क्षेत्रमा लागुपदार्थ सेवन गरेर लुटपाट, चोरी र कुटपिट लगायतका आपराधिक घटनामा संलग्न हुँदै आएका थिए ।
पछिल्लो समय अपराधका विभिन्न घटना यहाँ हुँदै आएको छ । अधिकांश घटना लागुऔषध वा अत्यधिक नशालु पदार्थ सेवनबाट घटेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । “हामीकहाँ आउने कुटपिटदेखि कर्तव्य ज्यान मुद्दासम्मका अभियुक्त लागुपदार्थ सेवन गरेको पाइएको छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, “जिल्लामा आउने आपराधिक घटनामध्ये ९५ प्रतिशतमा लागुऔषध वा नशालु पदार्थ सेवन नै प्रमुख कारणका रुपमा देखिएको छ ।”
जिल्ला प्रहरी, वडा प्रहरी र सामुदायिक प्रहरीलगायत विभिन्न दातृ निकायले लागुपदार्थ दुव्र्यसनबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि भारतसँग खुला सिमानाका कारण यहाँ लागुपदार्थ न्यूनीकरण गर्ने कार्य चुनौतीका रुपमा देखिएको छ ।
वडा प्रहरी कार्यालय भिमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुढथापाले हरेक अभिभावकले आफ्ना छोराछोरीका विषयमा गम्भीर हुनुपर्ने बताए । “सानैबाट छोरा छोरीमाथि निगरानी बढाउन आवश्यक छ”, उनले भने, “यहाँ भइरहेका हरेक आपराधिक क्रियाकलापमा युवापिँढी बढी संलग्न देखिन्छ ।”
उनले समुदायसँगको सहकार्यमा वडा प्रहरीले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन प्रा डा टेकराज पन्तले सरकारले नीति नै बनाएर मादक पदार्थ बिक्री वितरणदेखि प्रयोगसम्म कडाई गर्नुपर्ने अवस्था आएको बताए ।
“चियापसलदेखि किराना पसलसम्म रक्सी खुलेयाम बिक्रीवितरण हुँदा तीनै तहका सरकार मौन रहँदा विकृत्ति बढ्यो”, उनले भने, “विशेष ठाउँमा विशेष समयमा मात्रै उपभोग गर्न पाउनेगरी नियन्त्रणको प्रयास गर्नुपर्छ ।”
नशारहित समाज नभएसम्म अपराध नियन्त्रण गर्ने कार्य कल्पना मात्रै हुने उल्लेख गर्दै उनले विद्यालय, अभिभावक हुँदै राज्य पनि गम्भीर हुने समय आएको बताए । “युवापिँढीमा सद्भावनाको विकासका लागि सबैपक्ष सजक र सचेत हुनुपर्छ”, उनले भने, “अहिले नैतिक शिक्षासमेत हराएको अवस्था छ ।”
त्यसैगरी लागुऔषध तथा दुव्र्यसन रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजक मदन चन्दले दुव्र्यसनमा परेकाको तथ्याङ्क सङ्कलन गर्नुका साथै दुव्र्यसनको लतमा रहेकालाई उपचारका लागि सुधारगृहमा राख्नुपर्नेमा जोड दिए ।
भीमदत्तनगरमा धूमपान निषेध अभियानसमेत सञ्चालन गर्दै आएका चन्दले जिल्लाभरिका विद्यालय, क्याम्पस र सङ्घसंस्थामा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । “हाम्रै पहलमा १२ जनाभन्दा बढीलाई सुधारका लागि नार्कोन नेपालमा पठाइसके”, उनले भने, “ती मध्ये अधिकांशमा सुधार भएर सामन्य जीवन बिताइरहेका छन् ।” खुला सिमानाका भएकाले यहाँ लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायसँगै यहाँका सामाजिक सङ्घसंस्था, आमा समूह र क्लब पनि सक्रिय हुनुपर्ने उनले बताए ।































प्रतिक्रिया