- विवश कुलुङ-
चितवन। कुनै चर्चित कलाकारले ठेलागाडामा फलफूल, मःमः लगायतको व्यापार गरिरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । व्यापार गरिरहेको देख्नेले पनि यसलाई अभिनय ठान्न सक्छ । तर नेपाली कला क्षेत्रका चर्चित हास्य कलाकार धुर्मुस अर्थात् सीताराम कट्टेलले अहिले चितवनमा बदाम, पानी, स्याउ, सुन्तला र मःमः बेचिरहेका छन् ।
धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका कलाकार कट्टेलले यो सबै काम आफ्नो परिवारका लागि वा आफ्नो ज्यान पाल्नका लागि गरेका भने होइनन् । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रकम संकलनका लागि प्रतीकात्मक रूपमा ठेलागाडा पसल राखेका हुन् ।
कट्टेल दम्पतीले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आवश्यक रकम जुटाउन सबै नेपालीलाई एकताको सन्देश दिन पनि यो ठेलागाडा पसल खोलेको केन्द्रबिन्दुलाई बताए । पसलको पहिलो दिनको आयबाट तीन जना श्रमिकको ज्याला दिन पुगेको पनि कट्टेलले बताउन भ्याए । कट्टेलले ठेलागाडा पसलको सामान बिक्री गरेर संकलित भएको रकम रंगशाला निर्माणमै खर्च गर्ने बताए । थोपा–थोपा मिलेर समुद्र बन्छ भन्ने सन्देश दिन पनि कट्टेलले ठेलागाडा पसल खोलेका हुन् ।
पसलबाट उठेको पैसाले केही मजदुरको ज्याला दिन मात्र पुगे पनि टेवा पुग्ने उनको भनाइ छ । मंसिर ३० गतेबाट खुलेको ठेलागाडा पसलबाट पहिलो दिन नै राम्रो आम्दानी भएको अध्यक्ष कट्टेलले बताए–“हिजोको जति मात्र दैनिक कारोबार भए एक महिनामा ९० जनाको ज्याला पुग्छ ।’ त्यस्तै दोस्रो दिनको आम्दानीबाट २ जना श्रमिकको ज्याला पुगेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।
ठेलागाडा खोल्नुको कारण सोध्दा कट्टेलले भने, ‘निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला हेर्नका लागि मात्र औसतमा दैनिक ३०-४० जना आउने गरेका छन् । भ्यू टावर आसपासमा कुनै पसल छैन ।
अवलोकनमा आउनेहरूलाई सहजतासँगै उनीहरूसँग नजिक हुने र खरिदबाट आएको रकमले केही टेवा पुग्ने भएकाले यो पसल खोलेको हुँ ।’ यो पसलले रंगशाला निर्माणको लागि आर्थिक सहयोगमा टेवा पुगोस् भनेर नै खोलिएको कट्टेलको भनाइ छ । कट्टेलले ठेलापसल रहर नभएर बाध्यता पनि भएको बताए ।

आवश्यक २ अर्ब ६० करोड, संकलन ७ करोड रुपैंया
२ अर्ब ६० करोडको लगानीमा निर्माण भइरहेको उक्त रङ्गशालाको लागि हालसम्म करिब ७ करोड रुपैयाँ मात्र संकलन भएको छ । ठेलापसल विश्वभर रहेका नेपालीलाई निर्माणाधीन रंगशालाका लागि रकम जुटाउन प्रतीकात्मक सन्देश कट्टेलले दिएका हुन् ।
फाउण्डेशनका अध्यक्ष कट्टेलका अनुसार मंसिर महिनाको मजदुर ज्याला दिनसमेत रकम अभाव भएपछि ठेलापसल बाध्यता भएको बताए । अहिले रंगशाला निर्माणमा २ सय १३ जना कामदारले काम गरिरहेका छन् । चितवन, सल्यान, रोल्पा, दाङ लगायतका क्षेत्रका मजदुरहरू रंगशाला निर्माणमा खटिएका छन् । उनीहरूले एकदुई दिन ज्याला दिन ढिला हुँदा पर्खिने गरेकाले काम गर्न केही सजिलो भएको कट्टेल बताउँछन् ।
आफूले रङ्गशाला बनाउँछु भनिसकेकाले जसरी पनि सम्पन्न गर्ने उनले बताए । रंगशालाको स्ट्रक्चर अलि माथि उठेपछि जनस्तरबाटै आर्थिक सहयोग मिल्ने उनको विश्वास छ । यसअघि उनको पहलमा सम्पन्न भएका भूकम्प पीडितका लागि सञ्चालन गरिएका परियोजनाहरूमा पनि सुरुमा रकम संकलन गर्न धौ–धौ भएको अनुभव उनले सुनाए ।
स्ट्रक्चर माथि उठेपछि राम्रो सहयोग पाइने भएकाले यस पटकको अभियानमा पनि उनले देखिने गरी स्ट्रक्चर उठाउनको लागि दिनरात लागि परेको बताए । उनले भने–“मेरो सामथ्र्यले भ्याएसम्म जस्तोसुकै उपाय लागएर भए पनि पूरा गरेरै छोड्छु ।” उनले आफूसँगै भएको सबै तन, मन र धन लगाएर देशको लागि काम गरिरहेकोले बुनेको सपना र चालेको काममा सबैको सहयोग आउने र रंगशाला निर्माणले पूर्णता पाउनेमा ढुक्क रहेको बताए । रङ्गशाला निर्माणमा विभिन्न जिल्लाबाट स्वःस्फुर्त श्रमदानका लागि सहयोगी हातहरू पनि पाइरहेको कट्टेलले बताए ।
आधारभूत संरचना निर्माणपछि परियोजनालाई पुग्ने रकम संकलन हुने कट्टेलको विश्वास छ । फाउण्डेशनले अहिलेसम्म ७ वटा पिचको निर्माणका काम अन्तिम चरण पुर्याएको छ भने ७७ वटा जिल्लागत कक्षको निर्माणको काम धमाधम भइरहेको जनाएको छ ।































प्रतिक्रिया