आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकमा २२९ घरेलु हिंसाका मुद्दा राष्ट्रिय महिला आयोगमा दर्ता भएका छन् । महिला हिंसाका विभिन्न घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना आयोगमा आउने सचिव दीपेन्द्र काफ्लेले बताए ।
यही अवधिमा ४१ वटा अरु हिंसाका घटना आयोगमा दर्ता भएका छन् । घरेलु हिंसाका घटना उन्मूलन नै गर्न नसकिए पनि न्यूनीकरण गर्नु आयोगको लक्ष्य रहेको सचिव काफ्लेले बताए । विश्वका विकसित देशमा समेत विभिन्न किसिमका लैङ्गिक विभेद रहेको पाइन्छ । नेपालमा अशिक्षित महिला मात्रै नभएर सम्पन्न र शिक्षित महिला पनि हिंसामा परेको आयोगमा परेको मुद्दाले देखाएको छ ।
काफ्लेले भने, “हामीले घरेलु हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतनाका कार्यक्रम गरिरहेका छौँ ।” आयोगले दुई वर्ष पहिलेदेखि शुरु गरेको खबर गरौँ ११४५ (हेल्पलाइन) नम्बर पीडितलाई उजुरी गर्ने सबैभन्दा सहज माध्यम बनेको सचिव काफ्लले बताए ।
विश्व बैंकसँगको सहकार्यमा विसं २०७४ मङ्सिरमा शुरु भएको सो कार्यक्रम अहिले ७७ जिल्लामा लागू छ । यो दुई वर्षमा आठ हजार ९३८ सेवाग्राहीले फोन गरेर आफूलाई परेको समस्या राखेका थिए ।
टेलिफोन गर्ने धेरैलाई आयोगमा रहेका मनोसामाजिक परामर्शदाताले परामर्श दिएका थिए । तीमध्ये दुई हजार १४२ मुद्दा प्रहरीमा दर्ता भएको थियो । सो सेवामार्फत आवश्यक पर्दा पीडितलाई कानूनी सहायतासमेत उपलब्ध गराइँदै आएको उनले बताए । उनले भने, “पीडितलाई मनोसामाजिक सेवा, कानूनी सल्लाह, पारिवारिक मेलमिलाप र आवश्यक पर्दा सुरक्षित गृहमा समेत पठाउने गरिएको छ ।” रासस































प्रतिक्रिया