आइतबार बिहान स्वयम्भुमा ट्याक्सी चालकहरूले एक जना पठाओ चालकलाई समातेर ट्राफिक प्रहरीलाई बुझाएका छन्। विगत ४ महिनादेखि पठाओ चालकका रुपमा काम गर्दै आएका विकास तामाङलाई ट्याक्सी चालकहरूले समातेका हुन् ।
उनलाई महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले चिट काटेर कारवाही गरेका छन्। प्रहरीले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको भन्दै कारबाही गरेको हो। तामाङले ट्याक्सी चालकहरूले आफूलाई मोटर साइकल तोडफोड गर्ने धम्की दिएको बताए।

यातायात व्यवस्था विभागले गत मंसिर ४ गते सूचना जारी गर्दै निजी मोटरसाइकलबाट यात्रु नबोक्न निर्देशन दिएको थियो। यस अघि पनि गत वर्ष माघमा ट्राफिक प्रहरीले टुटल र पठाओका चालकहरूलाई कारवाही गरेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई सुचारु गर्न निर्देशन दिएपछि पुनः सञ्चालनमा आएको थियो ।
सरकारको पछिल्लो कदमप्रति सर्वसाधारणले भने आपत्ति जनाएको छ। यातायात व्यवसायीको दवावमा सरकारले जनतालाई दुख दिन खोजेको भन्दै विरोध भइरहेको छ।






























प्रतिक्रिया