२४ घण्टामा १८ जनाको मृत्यु, ११२ जना घाइते

२४ घण्टामा १८ जनाको मृत्यु, ११२ जना घाइते


काठमाडौं,

पछिल्लो २४ घण्टामा देशभर विभिन्न दुर्घटना तथा आपराधिक घटनाहरु अस्वभाविकरुपमा वृद्धि भएका छन् । यी घटनाहरुमा १८ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन् । जसमध्ये धेरैजसो सवारी साधन दुर्घटना तथा हत्याका घटनाहरु रहेको प्रहरीले जनाएको छ ।

हेटौँडामा कोठाभित्र एकजनाको शव फेला

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १० मा कोठा भाडा लिएर बस्ने एकजना मृत अवस्थामा फेला परेका छन् । आफ्नै डेरामा उनि मृत फेला परेका हुन् । तर उनको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बताएका छन् । मृत्यु हुनेमा हेटौँडा १० मा केशरी कम्युनिकेसन संचालन गर्दै आएका भारत विहार बस्ने २४ बर्षीय रवि केशरी रहेको भट्टराईले बताएका छन् । उनी कार्तिक १३ गतेबाट हराईरहेका थिए । केशरी हत्याको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काभ्रेमा टिपर दुर्घटना, चालकको मृत्यु

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग खण्डको पात्लेखेतमा आज बिहान टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार टिपर सडकबाट अन्दाजी १०० मिटर तल खस्दा चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको ज्यान गएको हो । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।

डोटीमा दुर्घटना : एकको मृत्यु , ३३ जना घाइते

यस्तै शनिबार बिहान डोटीमा भएको बस दुर्घटनाका मृतकको सनाखत भएको छ । बाजुराको बाह्रबिसकी ५१ वर्षीया माया सेरेलाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले घाइते ३३ जनाको पनि परिचय खुलेको जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा महोत्तरीको वर्दिवासका २८ वर्षीय महेश कोईराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटीको सलेनाका ३० वर्षीय रेश्मा लुहार, डोटी बोगटानका २८ वर्षीय दुर्गा सिंह विडारी, जोरायलका २८ वर्षीय कृष्ण बोहरा, डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक, सलेनाकै २२ वर्षीया कल्पना विक, बोगटानकी बाटु नेपाली, डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहरा, सडकपुर बौनियाँका २० वर्षीय सज्जन चौधरी, कैलालीको मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजन बोहरा, २३ वर्षीया पार्वती चौधरी रहेका छन् ।

पूर्वसांसद महतोको दुर्घटनामा मृत्यु

यता धनुषाका पूर्वसांसद रामलखन महतोको दुर्घटनामा मृत्यु भएको छ । बसको ठक्करबाट शुक्रबार उनको निधन भएको हो । जनकपुर ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका १ विश्वकर्मा चोकमा साइकलमा सवार उनलाई शुक्रबार बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो । ठक्कर दिएपछि उपचारको क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिरकुमार दाहालले जानकारी दिए । शैक्षिक भ्रमणका लागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा महतोलाई ठक्कर दिएको थियो ।

अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको प्रहरीले जनाएको छ । हजुरबुबाको श्राद्धमा मामाघर आएकी बालिका घरपरिवारका सदस्य भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुगेङ्लीले बताउनुभयो ।

म्याग्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुन रहेको प्रहरीले जनाएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नं को जीप दरवाङ–रुम सडकको ताक्सेमा पल्टिएर दुर्घटना भएको थियो । जीप पल्टिँदा भिरमा खसेका श्रीपाली र पुन मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । रुखमा अड्किएको अवस्थामा उद्धार गरिएका एक जनाको अवस्था सामान्य छ । मालिका–१ का जीपका चालक ३३ वर्षीय डम्मरबहादुर सिउथानीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

गढवा गाउँपालिका–६ मनिकापुरमा वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् ।

चक्कु प्रहारबाट गम्भीर घाइतेको मृत्यु

कात्तिक १२ गते दिपावलीकै दिन चक्कु प्रहारबाट गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ । रानाको उपचारका क्रममा बिहीबार बेलुका भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । दीपावलीका दिनमा सुर्खेत दीपनगरमा भैली खेलिरहेका समयमा सोही वडा निवासी २९ वर्षीय निर्मल सोनी, १९ वर्षीय केशव खनाल र २२ वर्षीय प्रेम गुरुङले पछाडिबाट टाउकोमा चक्कु प्रहारगरी सख्त घाइते बनाएको उहाँले बताउनुभयो ।

सुनकोशी नदीमा डुबेर एक युवक बेपत्ता

काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार नदी किनारामा वनभोज खान आएका काठमाडौँ, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल नयाँपाटी बस्ने कृष्ण घलेका १८ वर्षीय छोरा मिलन घले पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार जोसेप कलेज कपनमा कक्षा १२ मा अध्ययनरत मिलन तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट साथीहरुसँग मिलेर वनभोजका लागि बिहीबारनै दोलालघाट आएर बसेका र शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । एउटै कलेजमा अध्ययन गरेका १४ विद्यार्थी रमाइलोका लागि दोलालघाट आएका प्रहरीले जनाएको छ ।

आफ्नै फूपुले गरिन् ३ वर्षिया भदाको हत्या

बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो । रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले शुक्रबार हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।

बस दुर्घटनामा एकको मृत्यु ३६ घाइते

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नगरपालिका–६ बाह्रबिसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् भने ३६ जना घाइते भएका छन् । घाइते सबैको अहिले शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनु भएको छ । आज बिहान ५ बजे दुर्घटना भएको बस सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ ।

करेन्ट लागेर मामा–भान्जाको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् । दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् । सो दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

दुर्घटनापछि गम्भीर घाइते भएका न्यौपानेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस र ट्रक एकाआपसमा ठोक्किएर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालय सप्तरी तथा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरीको टोली घाइतेको उद्धारमा खटिएको थियो ।
काँकडभिट्टाबाट पश्चिम भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नं.को यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ५९०३ नं को ट्रक एकाआपसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । दुर्घटनाका कारण भने खुलेको छैन ।

छोराको कुटपिटबाट आमाको मृत्यु

कपिलवस्तुमा छोराको कुटपिटबाट गएराती आमाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकामा–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा ५५ वर्षीया फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विषयमा विवाद हुँदा सुरेन्द्रले मादकपदार्थ सेवन गरी शुक्रबार राति आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कपिलवस्तुमा राखिएको छ । छोरा सुरेन्द्र फरार छन् ।

बसको ठक्करबाट बालकको ज्यान गयो

कपिलवस्तुको वाणगंगा नगरपालिका–५ झण्डामा बसले किच्दा डेढ वर्षीय बालकको ज्यान गएको छ । आज बिहान लु १ ख ८४७७ नम्बरको बसले किच्दा स्थानीय राजेश थारुका डेढ बर्षीय छोरा टोपेन्दर थारुको ज्यान गएको हो । भैरहवातर्फ जाने क्रममा खेलिरहेका बालक टोपेन्दरलाई बसले ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको प्रहरीले जनएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

पोखरामा एक व्यक्ति मृत फेला

भक्तपुर घर भई हाल पोखरा महानगरपालिका १७ बस्ने ३५ वर्षिय अशोक अधिकारी मृत भेटिएका छन् । एक वर्षदेखि पोखरामा बस्दै आएका उनी आफ्नै डेरा अघि मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

Logo