- रामजी बलामी-
नेपालीहरुको दोस्रो ठूलो चाडका रुपमा लिइने तिहार यस वर्ष विवादमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको निर्णय आफ्नो परम्परा र संस्कृति विपरित भएको भन्दै नेवार समुदायले आपत्ती जनाएपछि अन्यौलता सिर्जना भएको हो ।
समितिको पात्रो अनुसार आगामी ८ गतेदेखि तिहार पर्व शुरु हुन्छ । समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमका अनुसार ८ गते यमदीप दान र ९ गते काग तिहार पर्छ ।
कात्तिक १० गते कुकुर तिहार परेको छ भने सोही दिन बेलुका लक्ष्मीपूजा परेको छ । त्यस्तै गरी कात्तिक ११ गते गाई, गोरु र म्हपूजा गर्नुपर्ने गौतमको तर्क छ । सो दिन ९ बजेर ४३ मिनेटसम्म मात्रै औँशी तिथि रहेको र त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा सोही दिन गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै कात्तिक १२ गते प्रतिपदा तिथिमा सुर्याेदय भएकाले नेपाल सम्वत (न्हू दँ) सोही मनाउनुपर्ने गौतमको तर्क छ । भाइटीका द्वितीया तिथिमा गर्ने र कात्तिक १३ गते बिहान ६ बजेर १८ मिनेटसम्म मात्रै द्वितीया तिथि रहेकाले १२ गते नै भाइटीका गर्दा शास्त्र सम्मत हुने उनको दावी छ । सोही अनुसार पञ्चाङ्ग समितिले १२ गते मंगलबार बिहान ११ बजेर ५५ मिनेट जाँदा भाइटीकाको उत्तम साइट रहेको उल्लेख गरेको छ ।
तिथि मान्ने कि परम्परा ?
पञ्चाङ्ग समितिले तिथि अनुसार तिहारको साइट निकालेपनि नेवार समुदायले भने आफूहरुले विक्रम सम्वत् भन्दा ६ महिनाअघि निकालेको नेपाल सम्वतको पात्रोको वेवास्ता गरिएको बताएका छन् । तिहार एउटा पर्व मात्रै नभएर नेवार समूदायको पहिचान पनि भएको भन्दै उनीहरुले सिंगो समूदायको पहिचानमाथि नै आक्रमण गर्ने हेतुले विक्रम सम्वतको पात्रो सार्वजनिक गरिएको बताएका छन् ।
४० वर्षदेखि नेवार समुदायको पहिचानका लागि संघर्षरत नेपाल भाषा मंका खलले विज्ञप्ती नै प्रकाशन गरेर तिहार आगामी ११, १२ र १३ गते मनाउन आग्रह गरेको छ । कात्तिक ११ गते लक्ष्मी पूजा, १२ गते दिउँसो न्हू दँ र बेलुका म्हपूजा तथा १३ गते भाइटीका (किजापूजा) गर्नुपर्ने मंका खलको ठहर छ ।
मंका खलका सचिव नरेशबिर शाक्यले चाडपर्व कसरी मनाउने भन्ने कुरा व्यक्तिको स्वतन्त्रता भएकाले आफ्नो संस्कृति र पहिचान बुझेर मनाउनुपर्ने बताए । सर्याै वर्षदेखि न्हू दँ र म्हपूजा एकैदिन मनाइदै आएकोमा यसपटक म्हँपूजा (११ गते) गरेपछि मात्रै न्हु दँ (१२ गते) मनाउने गरी पात्रो सार्वजनिक हुनु आफूहरुको संस्कृतिमाथि अतिक्रमण भएको उनको बुझाइ छ ।
११ गते म्हपूजा गर्दा चालु वर्ष (नेस ११३९) को हुने भन्दै उनले भने, “नयाँ वर्ष १२ गते मात्रै शुरु हुन्छ, ११ गते नै म्हपूजा गर्दा त्यो नेस् ११३९ को भयो । ११३९ मा त हामी वर्षको शुरुको दिनमा नै म्हपूजा गरिसक्यौ नि ।” कात्तिक ११ गते म्हपूजा गर्दा नेस ११३९ मा दुइपटक म्हपूजा हुने र नेस ११४० मा म्हपूजा नै नहुने अवस्था आउने उनको तर्क छ ।
उनले नेवार समूदायले तिहारलाई तिथि अनुसार भन्दा पनि परम्परा अनुसार मनाउनुपर्ने भएकाले लक्ष्मीपूजाको भोलिपल्ट म्हपूजा र न्हू दँ तथा त्यसको भोलिपल्ट (१३ गते) भाइटीका गर्न सुझाव दिएका छन् ।
विभाजित समुदाय
केही नेवार समुदायले भने पञ्चाङ्ग निर्णायक समितिकै निर्णय अनुसार तिहार पर्व मनाउने निर्णय गरेको छ । गत असोज २९ गते बसेको स्यस्यः समाज यल, जोशी समाज यललगायत २९ वटा जातीय संस्थाहरुले यस्तो निर्णय गरेको हो ।
उनीहरुले जारी गरेको विज्ञप्ती अनुसार १० गते बिहान ११ः ५० बजेसम्म कुकुर तिहार मनाउने, १० गते बेलुका लक्ष्मी पूजा गर्ने, त्यस्तै ११ गते राती म्ह पूजा गर्ने र १२ गते बिहान ७ः५० बजेसम्म प्रतिपदा तिथि रहेकाले न्हू दँ मनाउने र ७ः५० बजेपछि भाइटीका गर्ने उल्लेख छ । जोशी समाजका सचिव ज्ञानेशमान जोशीले न्हू दँ आउनुभन्दा पहिले तिथि अनुसार नै तिहार मनाइदै आएकाले सोही आधारमा तिहार मनाउनुपर्ने बताए ।
१३ गते सार्वजनिक बिदाको माग
सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा. अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिन माग गरेका थिए । प्रधानमन्त्री ओलीले पनि उनीहरुको माग सुनुवाइ हुने आश्वासन दिएका छन् ।
यसअघि पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार मात्रै सार्वजनिक बिदा घोषणा गरिएकाले यस वर्षको तिहार बिदा आगामी १२ गतेसम्मका लागि मात्रै तोकिएको छ ।
अन्यौलमा नेवार समूदाय
नेवार समुदायको प्रतिनिधित्व गरिरहेका संघ संस्थाहरुबीच नै मत भिन्नता देखिएपछि सर्वसाधारणमा अन्यौल पैदा भएको छ । यस विषयमा उत्पन्न भएको अन्यौलताहरु सामाजिक सञ्जालमा पोखिएका छन् । जारी अन्यौलताले विशेषतः भाइटीकालाई असर पुग्ने उनीहरुको तर्क छ ।
कात्तिक ११ गते म्हपूजा गर्नेहरुले १२ गते नै भाइटीका गर्छन् तर १२ गते मात्रै म्हपूजा गर्नेहरुले १३ गते मात्रै भाइटीका गर्छन् । कतिपय नेवार समूदायमा भाइटीका गर्न माइती जानुपर्छ भने कतिपय समुदायमा भाइटीका लगाउन दिदिबहिनीको घर जाने चलन छ ।
कात्तिक १२ गते म्हपूजा गर्नेको माइतीले पञ्चाङ्ग समितिको निर्णय अनुसार तिहार मनायो भने त्यो दिन भाइटीका पर्छ । त्यसैले उनीहरुको टिप्पणी छ, “माइतीमा भाइटीका भएको दिन आफ्नो घरमा म्हपूजा हुन्छ, अनि म्हपूजा नगरी भाइटीका गर्न जाने कि म्हपुजा गरेर भाइटीका गर्न नजाने ?” त्यस्तै कात्तिक ११ गते म्हपूजा गर्नेले १२ गते आफ्नो घरमा भाइटीका गरेर १३ गते मात्रै माइतीमा भाइटीका गर्न जानुपर्ने अवस्था सिर्जना भएको छ ।
यस विषयमा हामीले नेपाल भाषा मनका खल: का सचिव नरेशबिर शाक्यसँग कुराकानी गरेका छौं।





























प्रतिक्रिया