काठमाडौं,
धार्मिक एवम पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा कार्तिक एक गतेदेखि एक महीने स्नानमेला शुरु भएको छ । कात्तिक महीनाभर लाग्ने सो मेलामा पुगेर स्नान गरेमा रोगव्याधीबाट छुटकारा पाइने धार्मिक विश्वास छ ।
तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक महत्वकै कारण पछिल्लो समय यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको छ । धार्मिक तथा आकर्षक पर्यटकीयस्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीको हितलाई ध्यानमा राखी स्वीमिङपुल, पारिवारिक वातावरणमा नुहाउनेका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामूहिक रुपमा नुहाउन सर्वसाधारणलाई सात वटा धाराको व्यवस्था मिलाइएको तातोपानी धारा व्यवस्थापन समितिका विष्णु श्रेष्ठले बताउनुभयो ।
म्याग्दीको तातोपानीमा स्नान गर्नेको घुइँचो
यस्तै म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडक अन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको हो ।
चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक ५०० भन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्ने गरेका छन् । प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ति बढ्छ । यहाँ दुई वटा पोखरी निर्माण गरिएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यहीं स्नान गर्न सकिन्छ ।
बिहान ६ देखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि आन्तरिक पर्यटकलाई ५० तथा बाह्य पर्यटकलाई १५० प्रवेश शूल्क तोकिएको छ । कुण्डमा प्रवेशशूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष ५८ लाखमा ठेक्का लगाएको छ ।































प्रतिक्रिया