कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपतिद्वारा नवदुर्गाको प्रसाद ग्रहण

कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपतिद्वारा नवदुर्गाको प्रसाद ग्रहण

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक हुनुभई नवदुर्गा भवानीको पूजा अर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका विभिन्न मूर्तिको समेत अवलोकन गरी दर्शन गर्नुभएको थियो । विगत वर्षहरुमा दर्शन गरेर प्रसाद ग्रहण गरी फर्कने गरे पनि यसवर्ष भने राष्ट्रपति भण्डारीले नवदुर्गा नाच समेत अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति समक्ष नवदुर्गा नाच अन्तर्गत देवगणहरु श्याम वनमालाले गणेश, अनिल वनमालाले ब्रम्हायणी, मङ्गलाल वनमालाले महेश्वरी, लक्ष्मीप्रसाद वनमालाले कुमारी र शिवकृष्ण वनमालाले भद्रकालीको नाच प्रदर्शन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई दक्षिणा दिनुभएको थियो ।

कार्यक्रममा श्री देवगण तथा मन्दिर व्यवस्थापन संस्थालाई जात्रा सञ्चालनार्थ अक्षयकोष स्थापनाका लागि जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले १५ लाख तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले राष्ट्रपति भण्डारीलाई तलेजुको प्रसाद प्रदान गर्दै आर्थिक अभाव र पारिश्रमिक नहुँदा तलेजुको परम्परागत पर्वहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेकाले सरकारमार्फत सहयोग गरिदिन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरमा सांसद महेश बस्नेत, प्रदेशसभा सदस्यहरु शशीजङ्ग थापा, सरस्वती वाटी र रजनी जोन्छे, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बाँस्तोला, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखले स्वागत गर्नुभएको थियो ।

मनाइयो कोजाग्रत पूर्णिमा

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइयो ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँं पर्व पनि कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । विजया दशमीका दिनदेखि शुरु भएको मान्यजनबाट दुर्गा देवीको प्रसाद टीका र जमरा ग्रहण गर्ने क्रम पनि हिजैबाट अन्त्य भएको छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसेकाको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा मध्यराति महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसिन्छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरियो । नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

Skip This
Skip This
Logo