लुटपाटको त्यो झोलाः प्रहरीकै हतियार लुटेर डकैतीदेखि अन्य अपराधसम्म

लुटपाटको त्यो झोलाः प्रहरीकै हतियार लुटेर डकैतीदेखि अन्य अपराधसम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लुटपाट तथा डकैतीमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विप्लव समूहका नेतादेखि नेपाली सेनाका भगौडा जवानसम्म रहेका छन् । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेर महानगरीय प्रहरी परिसरले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका ५ घर भइ हाल हल्चोक बस्ने ३० वर्षीय युवराज भण्डारी, गोरखा अजिकोटका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वरका २९ वर्षीय राम बहादुर तामाङ, नुवाकाट विदुरका २५ वर्षीय धर्मराज तामाङ, रसुवा छेदिङमोका २९ वर्षीय योर्साङ घले, धादिङ खनिवासका २७ वर्षीय विजय तामाङ, नुवाकोट विदुरका ३० वर्षीय पिटर तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ रहेका छन् ।

कुशल अधिकारी आर्मीका भगौडा हुन् । यस्तै सो समूहका मुख्य नाइके योर्साङ घले ‘गोरे’ हुन् । गोरे विप्लव समूहका नेता रहेको प्रहरीले जनाएको छ । राम बहादुर तामाङ, धर्मराज तामाङ, विजय तामाङ राजन तामाङ र कुशल अधिकारी हाई रेष्टुरेन्ट एण्ड डान्स बारको सञ्चालक रहेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यहि झोला लुटिएपछि प्रहरीले ८ जनालाई पक्राउ गर्न सफल भएको थियो ।

होटलबाट योगेशको ठूलो झोलामा लाखौँ रुपैयाँ होला भनेर ५ जनाको समूहले लुटेर भागेका थिए । पक्राउ परेका लुटेरा समूहले आज या भोलि बौद्धस्थित एक व्यापारीको घर लुट्ने योजना समेत बनाएको पाइएको प्रहरीले जनाएको छ । लुटेराहरुले आज या भोलिसम्म बौद्धस्थित एक घर लुट्ने योजना बनाएको पाइएको डिएसपी बोगटीको भनाई छ । ‘उनीहरुले डान्सबारमा मिटिङ गरेर लुट्ने योजना बनाएका थिए,’ बोगटीले भने, ‘समयमै घटनाबारे प्रहरीलाई जानकारी भएपछि लुटेराहरुको योजना विफल भएको छ ।’

पक्राउ परेका ८ जनाको साथबाट २ थान पेस्तोल, ४ राउण्ड गोली र नक्कली सुन एक केजी पनि बरामद भएको छ । यस्तै लुटेरा समूहको साथबाट फलाम काट्ने एक औजार, लुटिएको पर्स, एटीएम कार्ड र मोबाइल २, लुटिएको कपटालगायत पछाडि बोक्ने झोला, मोटरसाइकल ४ र मोबाइल ७ वटा बरामद भएको छ ।

बरामद २ वटा चाइनिज पेस्तोल नेपाल प्रहरीले बोक्ने ६.२० एमएमको रहेको खुल्न आएको छ । पत्रकार सम्मेलनमा डीएसपी बोगटीले लुटेरा समूहबाट बरामद पेस्तोल सुरक्षा फौजले प्रयोग गर्ने पेस्तोल रहेको बताए । पक्राउ परेका ८ जनाविरुद्ध हातहतियार खरखजना र लुटपाट तथा डकैती मुद्दा दायर हुने प्रहरीले जनाएको छ ।

यसरी प्रहरी फन्दामा पर्‍यो लुटेरा समूहः
नवलपरासीको बर्दघाट-१५ मा बालकृष्ण सुनचाँदी पसल सन्चालन गर्ने योगेश विक र राजन तामाङबीच केही समयअघिदेखि चिनजान थियो । राजनले योगेशलाई आफु तस्करी गरिएको सुन बेच्ने गरेको र सुन चाहिए सम्पर्क गर्न भन्थे ।

केही दिनअघि गंगालाल अस्पतालमा बुबाको उपचारका लागि काठमाडौं आएका यागेश राजधानीको एक गेस्ट हाउसमा कोठा लिएर बसे। विक र राजनबीच सम्पर्क भयो। राजनले आफुसँग खाडीबाट तस्करी गरि ल्याइएका ५० ग्रामका सुनका बालाहरु रहेको बताए।

सुरक्षा फौजले प्रयोग गर्ने पेस्तोलको नम्बर इरेज गरेर लुटपाटमा प्रयोग गर्थे ।

विकले आफु किन्ने भन्दै भदौं १९ गते राजनलाई गेस्ट हाउसमै बोलाए । सुन किन्नेबेच्ने सहमतिपछि राजनलाई सुन लिएर आउन मान्छे बोलाए। तर त्यहाँ सुन बेच्ने मान्छे होइन, आफुलाई प्रहरी बताउने पाँच जनाको समूह आईपुग्यो। कोठाभित्र छिर्ने बित्तिकै पेस्तोल तेर्स्याउन थाले अनि केही छिनमै विकसँग रहेको ठुलो झोला लिएर भागे। तर त्यो झोलामा ४०/४५ हजार रुपैयाँ मात्र पैसा रहेछ। पैसा राखेको सानो झोलामा भने उनीहरूले देखेनन् । झोला लुटिएपछि विक प्रहरीको सहायता लिन पुगे ।

आफू लुटिएको थाहा पाएपछि योगेशले प्रहरीमा उजुरी दिए । उजुरी दिएको आधारमा प्रहरीले होटलको सीसी क्यामेरा हेरे । सीसी क्यामेरा हेर्दै गर्दा आधारमा प्रहरीले एकजना लुटेराको पहिचान गरियो । प्रहरीले चिनेको व्यक्ति थिए हल्चोक बस्ने भण्डारी ।

प्रहरीले उनको खोजी सुरु गर्‍यो । अन्ततः महानगरीय प्रहरी परिसरको टोलीले दिउँसो १ बजेतिर बसपार्कबाट भण्डारीलाई पक्राउ गर्न सफल भयो । भण्डारीलाई पक्रेर सोधपुछ गर्दै जाँदा घटनामा थप ७ जनाको संलग्नता देखियो । भण्डारीको बयानको आधारमा खोज्दै जाँदा बाँकी ७ जना बसपार्कस्थित हाई रेष्टुरेन्ट एण्ड बारबाट पक्राउ परेको डीएसपी बोगटीले बताए ।

Logo