यज्ञको नाममा चन्दा उठाउनेसँग होसियार हुन पञ्चाङ्ग निर्णायक समितिको अनुरोध

यज्ञको नाममा चन्दा उठाउनेसँग होसियार हुन पञ्चाङ्ग निर्णायक समितिको अनुरोध

केन्द्रबिन्दु
0
Shares

नेपाल पञ्चाङ्ग निर्णायक समितिले हिजो एक विज्ञप्ति जारी गर्दै शास्त्रीय दृष्टिले अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारणबाट पैसा उठाएर ठगी गर्ने व्यक्ति तथा समूहसँग होसियार हुन आग्रह गरेको छ ।

आगामी भदौ २८ गतेदेखि असोज ११ गतेसम्म काठमाडाैँको गोकर्णेश्वर महादेव मन्दिर, गुल्मीको रिडी, लमजुङ आदि स्थानमा गर्न लागिएको भागवत महायज्ञ शास्त्रविरुद्ध रहेकाले त्यसका नाममा यजमान बन भन्दै पैसा उठाइरहेकाले सचेत बन्न समितिले सबैमा अनुरोध गरेको हो ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले विज्ञप्ति जारी गर्दै आश्विन कृष्णपक्ष अर्थात् पितृपक्षमा पितृ कर्मबाहेक देवकर्म गर्नै नहुने शास्त्रीय मान्यता रहेको बताए । उनका अनुसार शास्त्रलाई बेवास्ता गरी यज्ञका नाममा ठूला विज्ञापनमार्फत भ्रम फैलाउन खोजिएकाले यस विषयमा समितिको ध्यान गएको हो ।

समिति भन्छ– पितृसूक्तबाहेक पुराणादि पाठ गर्नु नहुने पितृपक्षमा २ सय १६ आवृत्ति भागवत पाठ गरिने र २१ करोड बत्ती बालेर देवतालाई समर्पण गरिने भनी सञ्चारमाध्यममार्फत प्रचारप्रसार भइरहेको छ, यो गलत कुरा हो । यसमा धर्मको आडमा सर्वसाधारण ठग्ने नियत प्रस्टै देखिन्छ ।

शास्त्रले गर्नु हुँदैन भनेर तोकेको समयमा गर्न लागिएको यो कार्यक्रममा सहभागी भए २१ कुलका पितृ उद्धार हुने भनी झूटको खेती भइरहेको समितिले जनाएको छ । कुनै कामना राखेर गरिने कर्म शास्त्रले निषेध गरेका महिना, पक्ष, तिथि, बार, नक्षत्र, आश्विन कृष्ण (पितृ) पक्ष, मलमास र विश्वघस्र (१३ दिनको) पक्ष, गुरु एवं शुक्र अस्ताएको र यी दुवै ग्रह बालक वा वृद्ध भएको अवस्थामा पनि कुनै कामना राखेर गरिने (काम्य) कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो बेलामा दैनिक गर्नुपर्ने नित्य र अकस्मात् पर्न आउने बच्चा जन्मिएको, मानिस मरेको, मृतकको काजक्रिया, जातकर्म, नामकरण, अन्नप्राशन, ग्रहण स्नान आदि नैमित्तिक कर्म मात्र गर्न मिल्छ । प्रत्येक वर्ष मनाइने चाडपर्व, व्रत पनि नित्य कर्ममै पर्ने भएकाले गर्न हुने विज्ञप्तिमा उल्लेख छ ।

‘वैदिक संस्कृति एवं राष्ट्रिय चरित्र ध्वस्त पार्ने उद्देश्य बोकेका धर्मध्वज लिङ्ग वृत्ति लिएका अर्थ लोलुप केही व्यक्तिले आयोजना गर्न लागेको कार्यक्रम सर्वथा शास्त्रविरुद्ध छ’, समिति अध्यक्ष गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वेद, धर्मशास्त्रादि ग्रन्थको उपेक्षा गरी अशुद्ध समयमा गरेगराएको कर्मले कामना गरेबमोजिमको फल नदिने भएकाले सबै यजमानलाई सचेत हुन पनि समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

यजमानलाई फल प्राप्त नहुने निन्दनीय कर्म गराएर दान लिने एवं द्रव्य आर्जन गर्ने व्यक्ति शास्त्रअनुसार पतीत हुन्छ । त्यस्ता व्यक्तिको गति नारकीय हुन्छ भन्ने शास्त्र प्रवर्तकहरूको ठोस निर्णय रहेको समितिको ठहर छ ।

विज्ञप्तिमार्फत समितिले अशुद्ध समयमा कर्म गराउने पण्डित, पुरोहितहरूलाई सचेत गराउँदै शास्त्रमा उल्लेख गरिएको शुद्ध समयमा मात्र काम्य कर्म गराउन पनि सचेत गराएको छ ।

समिति शास्त्रअनुसारका कर्म गर्ने समय निर्धारण एवं पञ्चाङ्ग (पात्रो) प्रकाशनका लागि स्वीकृति दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको आधिकारिक निकाय हो । सरकारले समितिमा वेद, ज्योतिष, धर्मशास्त्र, इतिहास पुराणलगायत शास्त्रीय विषयका विद्वानहरू नियुक्त गर्ने गरेको छ ।

Logo