“तीजको दिन श्रीमानको माया झन् धेरै पाइन्थ्यो” (भिडियोसहित)

“तीजको दिन श्रीमानको माया झन् धेरै पाइन्थ्यो” (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आजभन्दा ८७ वर्षअघि सिन्धुलीमा जन्मिनुभएकी लक्ष्मीदेवी थापालाई अचेलको  तीज देखावटी लाग्छ । त्यो समयमा तीज दौतरीको भेटघाटको प्रमुख अवसर थियो । त्यो बेलाको तीजको रौनक निकै राम्रो लाग्थ्यो । सिन्धुलीतिर दरको रुपमा मासु पनि खाने गरिन्थ्यो । त्यो बाहेक घरमा नै बनाएर पुलाउ, खिर, आलुको अचार, फर्सीको तरकारी रातभरी खान्थ्ये । त्यो बेलाको तीज सम्झदैं उहाँ अहिले त तीज भन्दा पनि तडकभडक बढी लाग्छ ।

अघिल्लो रात जेजे खाएपनि भोलिपल्ट व्रतमा भने पानी पनि खान्थेनन् । पानी पिउँदा श्रीमानको रगत खाए जस्तै हुने उहाँको मान्यता थियो । ‘पानी पिउँदा श्रीमानको रगत पिएको सरह हुने मान्यता थियो ।’ अहिलेको दर खाने चलन देखेर उहाँलाई विरक्त लाग्छ । चार महिनाअघि देखिनै दर खाने प्रचलन आइसक्यो । हाम्रो पालामा त तीजका अघिल्लो दिनमात्र दर खाइन्थ्यो ।

भोकै बसेर तीजको दिनभर नाचगान गरेर भोलिपल्ट गोबरको कुण्डमा अर्ध दिएपछि मात्र खाना खाइन्थ्यो । अझ त्यो दिन श्रीमानले बिहानै उठेर खाना पकाइदिने र त्यो दिन अझ माया पाइन्थ्यो । सुखदुख साट्ने चाडको रुपमा पनि तीजलाई लिइन्थ्यो ।

रसुवा घर भएका मैया न्यौपानेको भने अलि चलन भिन्न थियो । उहाँहरूको घरतिर मासु खाने प्रचलन थिएन् । पशुपति बृद्धाश्रममा भेटिएका मैयाले आफ्नो बेलाको तीज सम्झिँदा निकै रमाइलो लाग्छ । दर खाने दिन मिठो मिठो खाने गरिन्थ्यो । अरु दिन ढिँडो खाए पनि दर खाने दिन भने चामलको भात, कुराउनी खाने गरेको उहाँको सम्झनामा छ ।

तीज र माइतीबीचको सम्बन्ध एकदमै प्रगाढ हुन्छ । वृद्धाश्रममा भेटिएका बृद्धाहरूले तीज र माइतीबीचको सम्बन्धलाई माछा पानी जस्तै लाग्छ । माइती नहुँदा तीज पनि नहुने उहाँहरू सुनाउँछन् । ८८ वर्षीया पम्फा कार्की आमा बिनाको तीजको अर्थ नहुने बताउँछन् । महादेवको पूजा गरेपछि मात्र भोजन गर्ने त्यो समय अहिलेको समय भन्दा धेरै उल्लासपूर्ण रहेको उहाँको बुझाई छ । आजकाल तीजमा आमा दिदिबहिनीको भेटघाट हुनै छाडेको उहाँको तर्क छ । बढ्दो पश्चिमा संस्कृतिले गर्दा तीजलाई आधुनिकतातिर ढालिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

त्याग र समर्पण सिकाउने यो तीजमा आजकल विकृति रुपमा अगाडि बढिरहेको उहाँको बुझाई छ । अरु बेला नबोलाइने चेली तीजमा भने बोलाएपछि मात्र जानुले यो पर्वले नारीको विशिष्टता बोकेको बालकुमारी थापाको भनाई छ । पहिले दर खान पुरुषहरु सम्मिलित नहुने बताउँछन् ।

तीजको भोलिपल्टै पञ्चमी परेमा दहीको पारायण गरी व्रत छुट्याउने प्रचलन रहेको थियो । पञ्चमीको दतिवनले दात माझेर स्नान पछि सप्तर्षीको पूजन गरेर कर्कला र भात खाएपछि व्रत पूर्ण भएको मानिथ्यो । तीज विकृति र देखावटी मात्र बनेकोमा तीनै जना आमाहरुको चिन्ता छ ।

Logo