काठमाडौं,
पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ ।
गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे । नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेका थिए ।
छोरा विवेकको सुसाइड नोटका आधारमा बाबुको बाहिरी सम्पर्ककै कारण आमाले चित्त दुखाएको र तीनै जनाले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । पछि मायाले श्रीमानलाई आत्महत्या अघि गरेको म्यासेजसमेत प्रहरीले फेला पारेको थियो ।
आत्महत्या अघि मायाले श्रीमानलाई गरेको म्यासेजमा लेखिएको थियो, ‘अब हामी तपाईंलाई दुःख दिने छैनौं, सधैं अरूको कुरा सुन्नु, गुडबाई, तपाईंको प्रगति होस् ।’ यसैगरी, गत २० साउनमा पत्रकार शालिकराम पुडासैनीले समेत विवाहइतर सम्बन्धकै कारण आत्महत्याको निर्णयमा पुगेको देखिएको छ । उनले चितवनको भरतपुरस्थित कंगारु होटलमा झुन्डिएर आत्महत्या गरेका थिए । यसैगरी, ३२ साउनमा सुन्धाराको एक होटलमा सासूससुरासहित बसेकी तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङले समेत होटलको चार तलामाथिबाट हामफालेर आत्महत्या गरेकी थिइन् । प्रहरी अनुसन्धानले उनले समेत पारिवारिक खटपटककै कारण आत्महत्या गरेको देखाएको छ ।
यस्तै, १ भदौमा स्वयम्भू ठूलोभ¥याङस्थित प्रेमिकाको कोठामा एक प्रहरी जवानले झुन्डिएरै आत्महत्या गरेका थिए । प्रहरी जवान शंकर ठगुन्नाले प्रेमिकाको कोठामा आत्महत्या गरेपछि प्रेमिकाले नै प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृतक ठगुन्नाकी प्रेमिका रहेको प्रहरीले बताएको छ ।
यसैगरी, बौद्ध आरुबारीस्थित ओम साइबाबा काष्ठ उद्योगका सञ्चालक खेमराज अधिकारीले ४ भदौमा प्रेमिकासँगको सम्बन्धका कारण आत्महत्या गरेका थिए । उनले उद्योगभित्रै सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या लगत्तै एक महिला मृतक अधिकारी आफ्नो श्रीमान भएको भन्दै बौद्ध प्रहरीसमक्ष पुगेको तर मृतक अधिकारीका आफन्तले भने अधिकारीले विवाह नै नगरेको र तिनै महिलाका कारण आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा किटानी जाहेरी दिएका थिए ।
सोही दिन प्रहरीले गोंगबुस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर तथा काभ्रेकी ३० वर्षीया सविना बजगाईंलाई मृत फेला पारेका थिए । उनीहरू दुवै फरक–फरक विवाह सम्बन्धमा रहेको र अघिल्लो दिन नै होटलमा बसेको प्रहरी अनुसन्धानले देखाएको थियो । विवाहइतर सम्बन्धकै कारण गत १६ असारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको पाइएको छ । आफ्नो पति हुँदाहुँदै परपुरुषसँगको सम्बन्धमा रहेकी २७ वर्षीया छोरी ईश्वरी भट्टराईले प्रेमीसँगको सम्बन्धका कारण आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । सावित्राको भारतीय भाडाका अपराधीमार्फत चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरिएको थियो ।
ईश्वरीले सिरहा स्थायी घर भई भक्तपुर पुरानो ठिमी बस्दै आएका प्रेमी मोहम्मद नौसादसँगको सम्बन्ध आमाबाट बाहिर आउने थाहा पाएपछि आमाको हत्याको योजना बुनेको प्रहरीले बताएको छ । यसैगरी, पर्साको कालिकामाई–५ मा आफ्नै श्रीमान्ले सामान्य घरायसी विवादका कारण आफ्नी श्रीमती ३५ वर्षीया संगीतादेवी कुर्मीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्तिनारायण राउत कुर्मी पक्राउ परेका छन् ।
यस्तै, पारिवारिक खटपटकै कारण केही महिनाअघि पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा एक परिवारका पाँच जना तथा अर्को परिवारको चार गरी नौ जनाको हत्या भएको थियो । सो हत्या प्रकरणमा पनि घरायसी विवादका कारण अफन्तको परिवार नै नाश हुने गरी हत्या भएको प्रहरी अनुसन्धाले देखाएको थियो । सो घटनाबारे अनुसन्धान जारी छ ।
प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी एवं प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले इतरसम्बन्धमा रहेकाहरूको सम्बन्धबारे परिवार तथा आफन्तले थाहा पाएपछि उनीहरू हत्या तथा आत्महत्याको निर्णयसम्म पुग्ने गरेको पाइएको बताए । ‘विवाह सम्बन्धमा रहेकाहरू परसम्बन्धमा पुगेपछि परिवार तथा आफन्तले थाहा नपाऊन् भन्ने चाहन्छन् । परिवार तथा आफन्तले थाहा पाएपछि सो कुरा बाहिर नआओस् भनेर हत्या तथा आत्महत्याको निर्णयमा उनीहरू पुग्ने गरेको अनुसन्धानबाट देखिन्छ,’ नेपाल प्रहरीका सहप्रवक्ता जोशीले भने ।
राजधानीबाट





























प्रतिक्रिया