आफ्नै पतिबाट बलात्कृत भएको भन्दै तेस्रो लिङ्गीले दिइन् उजुरी

आफ्नै पतिबाट बलात्कृत भएको भन्दै तेस्रो लिङ्गीले दिइन् उजुरी

केन्द्रबिन्दु
0
Shares

कैलाली,

तेस्रो लिङ्गीको नागरिकता लिएकी मोनिका शाही (योगी) ले आफ्नै पतिबाट बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएकी छिन् । गत साउन अन्तिम सातामा धनगढीको एक होटेलमा पति रमेश नाथ योगीसँगै बसेको समयमा आफूलाई रातिको समयमा पटक–पटक जबरजस्ती करणी गरेको भन्दै मोनिकाले प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तेस्रो लिङ्गी मोनिकाले आफ्नो पतिले लागू औषध सेवन गरेर पटक पटक जबरजस्ती करणी गर्न थालेपछि आफूले जबरजस्ती करणीमा मुद्दा दर्ता गराएको बताइन् । अढाइ वर्ष अघि तेस्रो लिङ्गी मोनिका र रमेशनाथ वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरुले रिपोटर्स क्लब काठमाडौँमा पत्रकार सम्मेलन गरेर वैवाहिक बन्धनमा बाँधिएको घोषणा गरेका थिए ।

वैवाहिक बन्धनमा बाँधिए लगत्तै उनीहरुले नेपालको कानुन बमोजिम विवाह दर्ता र नाता प्रमाणित समेत गराएका थिए । रमेश डडेल्धुराको परशुराम नगरपालिका–१२ का बासिन्दा हुन्। मोनिका रमेशकी कान्छी पत्नी हुन् ।

आफूलाई पतिले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत साउन २१ गतेका दिन मुद्दा दर्ता गराएको उनले बताइन् । ‘मैले पतिले मलाई जबरजस्ती करणी ग¥यो भनेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले सुरुमा दर्ता गर्नै मानेन,’ उनले भनिन्, ‘उल्टै प्रहरीले तेस्रो लिङ्गी पनि कहीँ बलात्कृत हुन्छ भन्दै मुद्दा दर्तै गरेन । ’ पछि आफू प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई भेटेर भनेपछि मात्रै प्रहरीले दर्ता गर्न मानेको उनले बताइन् । उजुरी दिनु अघि बलात्कृत भएको भन्दै सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
नागरिकबाट

Logo