-
कृष्णसिंह धामी ।
काठमाडौं । होटलको चौथो तलाबाट हाम फालेर ज्यान गुमाएकी दिलमाया गुरूङको ‘प्रि प्लान मर्डर’ भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । मृतक दिलमायाका भाई खेमराज गुरूङले दिदीको आत्महत्या नभई पूर्व योजना अनुसार हत्या भएको भन्दै भिनाजु सन्जीव गुरूङविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन् । दिल कुमारी गुरूङ नामले चिनिने दिलमायाले साउन ३२ गते काठमाडौंको सुन्धारास्थित नागराज होटलको चौथो तलाको झ्यालबाट हाम फाल्दा ज्यान गुमाएकी थिइन् ।
आफ्नो दिदीको आत्महत्या नभई पूर्व योजनाअनुसार हत्या गरिएको भन्दै भाई खेमराजले महानगरीय प्रहरी वृत्त जनसेवामा भिनाजु सन्जीव गुरूङविरूद्ध किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीपछि प्रहरीले सन्जीवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वासुदेव खतिवडाले जानकारी दिए ।
उता दिलमायाको अझै पोष्टमार्टम हुन सकेको छैन । सन्जीवको परिवारका सदस्यहरू आउन नमान्दा पोष्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ । सन्जीवको परिवारले आफुहरू नआउने बताउँदै आएका छन् । जसकारण पोष्टमार्टमा ढिलाइ भइरहेको डिएसपी खतिवडाले बताए । ‘घटना अनुसन्धानकै क्रममा छ । अब किटानी जाहेरी परेपछि कर्तव्य ज्यान मुद्दा अन्तर्गत रहेर अनुसन्धान भइरहेको छ ।’ डिएसपी खतिवडाले भने ।
पहिलो श्रीमानसँग डिभोर्स भएपछि पोखराका सन्जीवसँग बस्दै आएकी दिल कुमारीले ‘आफ्नो बच्चा छ भन्दै ढाट्दै आएको’ सन्जीवको परिवारको गुनासो छ । सन्जीव परिवारलाई काठमाडौंमा आफ्नो बच्चा रहेको भन्दै विगत तीन/चार वर्षदेखि ढाट्दै आएको र बच्चा देखाउन भनेर काठमाडौं आएको बेला उक्त घटना घट्न पुगेको बताइएको छ । तर मृतक दिलमायाका माइती पक्षले भने आत्महत्या नभइ पूर्व योजना बनाएर हत्या गरिएको दावी गर्दै आएका छन् । दिलमायाका छोराहरूले समेत ‘आमाको प्रि-प्लान मडर’ भएको भन्दै घटनाको सत्यतथ्य छानविनको माग गरेका छन् ।





























प्रतिक्रिया