मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप, एउटै वडाका ३ जनाको मृत्यु

मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप, एउटै वडाका ३ जनाको मृत्यु

केन्द्रबिन्दु
3
Shares

मुगु । हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका-६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ।

भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए । उनका अनुसार भाइरल ज्वरोका कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको ज्यान गएको हो।

‘सुरुमा रुघाखोकी लागेको थियो । नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाउँदा पनि ज्वरो निको नभएपछि जिल्ला अस्पताल लैजाँदै थियौँ,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने, ‘अस्पताल पुर्‍याउनै पाएनौँ ।’ कुसुम उनकी माइली बुहारी हुन्।

मृतक तीनै जनामा एकै किसिमको लक्षण देखिएको छ । ज्वरो आउने, रुघाखोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख धामीले बताए । उनका अनुसार गाउँपालिकाका ९ वटै वडामा उस्तै प्रकृतिका लक्षण देखिएका बिरामी बढ्न थालेका छन् । वडा नं. ६ र ७ मा प्राय सबै घरैपिच्छे भाइरल ज्वरोका बिरामी छन्।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च लगायतका दर्जन बढी बस्तीमा भाइरल ज्वरो फैलिएको छ । बिरामीहरूमा ज्वरो आउने, रुघा खोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने, श्वास फेर्न गारो हुने, टाउको दुख्ने र नाक मुख सुख्खा हुनेलगायतका लक्षण देखिएको छ ।

‘सुरुमा हामीलाई पनि योबारे जानकारी आएन । सामान्य ज्वरो र रुघाखोकी त हो भनेर प्राय सबै घरमै बस्नुभएछ। हामीले ७ गतेमात्र पालिकामा विशेष गरी वडा नं. ६ र ७ मा धेरै जना एउटै प्रकृतिका लक्षण भएका बिरामी बढे भन्ने खबर पायौं,’ स्वास्थ्य शाखा प्रमुख धामीले भने, ‘अहिले गाउँभरि बिरामी परेका छन् । हामीले पनि उपचारलाई प्राथमिकतामा राखेर काम थालेका छौँ।’

पालिकाले जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर डाक्टरसहितको टोलीलाई बोलाएर बिरामीको परीक्षण गराएको शाखा प्रमुख धामीले बताए । ‘अहिले यही समस्या हो भनेर बोल्ने स्थिति छैन। परीक्षण भइरहेको छ। रिपोर्ट आउन बाँकी छ,’ टोलीमा संलग्न जिल्ला अस्पतालका डाक्टर कमल ढुंगानाले भने।

उनले अघि थपे, ‘हामीले लक्षणको आधारमा कोभिड-१९, मलेरिया, औँलो, स्क्रब टाइफसलगायत समेत चेक गर्‍यौँ। बिरामीमा त्योमध्ये कुनै पनि भाइरस देखिएन । केही बिरामीको रगत र स्वाब परीक्षणको लागि पठाएका छौँ, त्यसको रिपोर्ट आएपछि मात्र कुन भाइरस हो भन्न सकिन्छ । तर, बिरामीका लक्षण हेर्दा मौसमी भाइरल हुन सक्छ।’

मंगलबार मात्रै पुरुमुरु र जिमा गाउँमा ११८ जना बिरामीको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। उनीहरू मध्येबाट नमुना जाँचका लागि खकार, स्वाब र रगत परीक्षणका लागि नेपालगञ्ज पठाइएको डाक्टर ढुंगानाले बताए। उनका अनुसार अब थप चार जना बिरामीको अवस्था गम्भीर छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Skip This
Skip This
Logo