काठमाडौं । स्थानीय तहको लागि खोलिएको विज्ञापनमा आजदेखि परीक्षा सुरु हुदैंछ । लोक सेवा आयोगले परीक्षामा झोला, मोवाइल तथा इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरेको छ । परीक्षा हुनुपुर्व भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै आयोगले ति सामाग्री लैजान निषेध गरेको हो ।
यसअघि परीक्षार्थीहरुलाई परीक्षा हलभित्रै झोला र मोबाइल राख्न दिइन्थ्यो । झोला र मोबाइल निरीक्षकले तोकिदिएको स्थानमा राखेर परीक्षामा बस्न पाइन्थ्यो । तर यो पटक भने ति सामाग्री परीक्षा केन्द्रको गेटभन्दा बाहिरै राख्नुपर्ने आयोग जारी सूचनामा उल्लेख गरिएको छ ।
सूचना भनिएको छ, ‘परीक्षालाई मर्यादित बनाउन परीक्षामा सामेल हुने परीक्षार्थीहरुले परीक्षा हलमा झोला, मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ । त्यस्ता सामाग्रीहरु परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने व्यहोरा सूचित गरिन्छ ।’

आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ सिटका लागि विज्ञापन खोलेको छ । ती पदका लागि ४ लाख ४१ हजार १४१ दरखास्त परेका छन् । आदिवासी जनजातीको कोटामा ४३ हजार ३२०, मधेसी कोटामा २४ हजार ९०, दलितमा ३ हजार ९१, पिछडिएको क्षेत्रमा ११६, अपांगमा १४६ र महिला कोटामा १ लाख ३ हजार ५ सय ६७ दरखास्त परेका लोक सेवाले जनाएको छ ।
उक्त विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजातीहरुले आन्दोलन गर्दै आएका छन् । विज्ञापन समावेशी नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । आदिवासी जनजाती महासंघको नेतृत्वमा आदिवासीहरुले आन्दोलन गरिरहेका हुन् । बिहीबार लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगर अगाडि प्रदर्शन गरेका थिए ।
उनीहरुले आज परीक्षाकै दिन साँझ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगको अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउने कार्यक्रम राखेका छन् । काठमाडौंमा साँझ ५ बजे असन क्षेत्रमा पुत्ला जलाउने कार्यक्रम रहेको महासंघले जनाएको छ । आजबाट सुरु भएको परीक्षा साउन महिनाभर चल्ने छ ।





























प्रतिक्रिया