लापसे गरी सवारी चलाउने चार जना चालक प्रहरीकाे नियन्त्रणमा

लापसे गरी सवारी चलाउने चार जना चालक प्रहरीकाे नियन्त्रणमा

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका छुट्टाछुट्टै स्थानबाट शुक्रबार राती ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको छ।

काठमाडौंको नागढुङगाबाट हिजो बा १प ७६४ नम्बरका पर्यटक माईक्रो चालक ललितपुरको ललितपुर महानगरपालिका –१४ का ३२ वर्षीय बासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका –८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ का २७ वर्षीय पंकज चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै, काठमाडौंकै बल्खुबाट पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका बागमती प्रदेश ०१(०२५ च ७८ ७४ नम्बरका पिक अप भ्यान चालक सिन्धुपाल्चोकका २५ वर्षीय सफल श्रेष्ठलाई पनि हिजो साँझ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेलापरेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट र श्रेष्ठलाई भने प्रहरी वृत्त कालिमाटी पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

यात्रु बोक्ने संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

श्रेष्ठले सवारी साधन चलाउँदा चालकले मापसे वा लापसे सेवन गरेको शंका लागे मात्र पनि तुरुन्त नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न आग्रह गरे।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए वा नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ।

Logo