इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका सुरेश गुरुङ पक्राउ परेका छन् ।
गोरखा साविक मानवु-५ माझगाँउवेशी बस्ने २४ वर्षीय गुरुङलाई शनिबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दा चलाएको छ ।
इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड अनुसार सुरेश कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं गोंगबु मित्रनगरमा फेला पारी उनलाई पक्राउ गरेको हो।
उनले गुरुङ थरकी महिलालाई विभिन्न अश्लिल म्यासेज लेखी पठाएकोमा त्यस्तो नगर्न उनका आफन्तले अनुरोध गर्दा अनुरोध गर्ने व्यक्तिलाई समेत इमो मार्फत अपशब्द लेखी, धम्की समेत दिई प्रतिष्ठामा आँच आउने काम गरेको प्रहरीले जनाएकाे छ।
पीडितले सुरेश विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्धामा गत वैशाख ८ गते महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएका थिए। उक्त जाहेरीको आधारमा उनीविरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनी उपर गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो ।
गुरुङ उपर महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।































प्रतिक्रिया