काभ्रेको पाँचखालमा लिच्छविकालीन भग्नावशेष फेला

काभ्रेको पाँचखालमा लिच्छविकालीन भग्नावशेष फेला

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

जिल्लाको पाँचखाल नपा – ७ मा लिच्छविकालीन भग्नावशेष भेटिएका छन् । पुरातत्त्व विभागको टोलीले करिब दुई साता लगाएर उत्खनन् गरेपछि यहाँ तत्कालिन समयका खानेपानीका पाइपलाइन, दरबारका भग्नावशेषदेखि मानदेवले प्रचलनमा ल्याएको मुद्रा मानांक लगायत भेटिएको छ ।

पाइपलाइन इँटा र माटोले बनाएको पाइएको छ । रानीपोखरी दरबारसमेत फेला परेको उत्खननमा खटिएका पुरातत्त्वविद् उद्धवराज आचार्यले बताए । उनका अनुसार उत्खननका क्रममा पुरातात्त्विक अभिलेख समेत फेला परेका छन् । ती अभिलेख १२ वा १३ औं शताब्दीको भएको अनुमान छ।

उनका अनुसार पुरानो कुवाबाट श्रीरामपाटी बजार हुँदै किटनीको चौर रानीपोखरीसम्म (डेढ किलोमिटर) को पाइपलाइन छ। अर्को काँगियोको कुवाबाट किटनी चौर हुँदै रानीपोखरीमा खसाइएको सवा किलोमिटरको पाइपलाइन छ। यस्तै, झिकु खोला बाँध बाँधेर घट्टेकुलो, श्रीरामपाटी ढापखोला हुँदै रानीपोखरीमा झारिएको अर्को पाइपलाइन पनि छ।

१३ औं शताब्दी तिरका इँटा, सिलौटा, माटाका भाँडा पनि पाइएको छ । नारायणको मूर्तिसमेत फेला परेको छ। तत्कालीन नेपाल र चिनियाँ पक्षबीच उपहार आदानप्रदान गरेको अभिलेख पनि भेटिएको छ । त्यस सम्बन्धमा अध्ययन भइरहेको उनले बताए । मानदेवको पालाको मुद्रा मानांक र अंशुबर्माको पालाका सिक्कासमेत पाइएको छ। सिक्काको एक पाटोमा ‘भोगिनी’ लेखिएको छ। अर्को पाटामा सिंहको चित्र छ।

यसबारे स्थानीयले जानकारी दिएपछि विभागबाट ६ जनाको टोली खटिएको थियो । स्थानीयका अनुसार पलाञ्चोक उपत्यकामा वि.सं १४६२ तिर शक्ति सिंहले स्वतन्त्र किसिमले राज्य सञ्चालन गरेको कथन पाइन्छ । उनले पटक–पटक काठमाडौंमाथि आक्रमण गर्दै आधिपत्यसमेत हासिल गरेका थिए ।

पाँचखाल नगरपालिकाले पलाञ्चोक उपत्यका पुरातात्त्विक खोज तथा संरक्षण समिति बनाएर अध्ययन थालेको छ। यसको अध्यक्ष नगरपालिकाका मेयर महेश खरेल छन् । अहिले पाँचखालको प्राचीन, ऐतिहासिक अभिलेख र भग्नावशेष पाइएको र यसको प्रतिवेदन तयार गर्ने काम भइरहेको उनले बताए। त्यसपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताइएको छ ।

Skip This
Skip This
Logo