जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन

जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन

केन्द्रबिन्दु
56
Shares

तुलसीपुर (दाङ)। दाङमा जातीय विभेद अन्त्य गर्न युवा सञ्जाल गठन गरिएको छ। विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर-किशोरी सञ्जाल गठन गरिएको हो।

दाङका अन्य विद्यालयमा पनि यो सञ्जाल गठन गर्ने दलित महिला सङ्घ दाङका अध्यक्ष युवा कराराले बताए। उनका अनुसार ती सञ्जाल गठन गरी नयाँ पुस्ताका दलितले भोग्नुपरेका विभेदलगायत विषयमा अध्ययन गरिनेछ।

छुवाछूतमुक्त राष्ट्र घोषणा भए पनि हाम्रो समाजमा छुवाछूतका घटना नघटेका अध्यक्ष कराराको दुखेसो छ। उनले विभेदरहित समाज निर्माणका लागि जातीय मुद्दा साझा बन्नुपर्नेमा जोड दिए। उनले दलित भएकै कारण सार्वजनिक धारा, कुवाको पानी प्रयोग गर्न नपाएको गुनासो गरे।

दलित समुदायका आवाजलाई निरन्तररूपमा समावेश गर्नुपर्ने दलित अधिकारकर्मी निर्मल नेपालीले बताए। दाङका १० पालिकामध्ये आफूहरूको अथक प्रयासका कारण तुलसीपुर उपमहानगरपालिकाले दलित सशक्तीकरण ऐन ल्याएकाले पूर्णरूपमा कार्यान्वयन सबैको दायित्व रहेको उनले बताए।

Logo