बागलुङमा ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान

बागलुङमा ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान

केन्द्रबिन्दु
42
Shares

गलकोट (बागलुङ)। जिल्ला प्रहरी कार्यालय बागलुङले ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान थालेको छ। उक्त कार्यालयले प्रहरीलाई नियमित रूपमा व्यायाम र अध्ययन गर्ने व्यवस्था मिलाएको छ।

प्रहरीलाई अध्ययनशील बनाउन अनिवार्य कानुन र प्रहरीसँग सम्बन्धित विषयको अध्ययन गर्नुपर्ने व्यवस्थासहित सम्बन्धित विधाका पुस्तक प्रत्येक प्रहरी एकाइमा पठाउन थालिएको छ।

नेपाल प्रहरीलाई ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी बनाउने अभियान बागलुङमा थालिएको बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए।

उनका अनुसार प्रहरी कर्मचारीले खानपान र ऐसआरामको जीवनशैली अपनाउन थालेका कारण उनीहरू अस्वस्थ बन्दै गएका र कार्यसम्पादन अपेक्षित रूपमा हुन नसकेकाले प्रहरीलाई अनिवार्य शारीरिक व्यायाम गर्नुपर्ने नियम बनाइएको छ।

जिल्ला मातहतमा रहेका प्रहरी एकाइले व्यायाम गरेनगरेको ‘भिडियो’ दैनिक जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’लाई पठाउनुपर्नेछ। उनले भने, “प्रहरी शारीरिक रूपमा फुर्तिलो हुनैपर्छ तर पछिल्लो समय खानपान र जीवनशैलीका कारण प्रहरी आवश्यकताभन्दा बढी मोटाउन थालेपछि व्यायामलाई अनियवार्य गरिएको हो। ”

जिल्ला प्रहरी कार्यालयले प्रविधिमा पनि प्रहरीलाई जोड्न थालेको छ। कार्यालयले तीन अभियानलाई एकसाथ अगाडि बढाएको प्रहरी उपरीक्षक कँडेलले बताए। उनका अनुसार शारीरिक र मानसिकरुपमा स्वस्थ्य प्रहरी, अध्ययनशील प्रहरी र प्रविधिमैत्री प्रहरी अभियानलाई सञ्चालनमा ल्याइएको हो।

उनले भने,“ हाल सम्मको अनुभवले प्रहरीबाट भएका त्रुटि अज्ञानताका कारण भएको पाइएको छ, प्रहरी अधिकृत सबै स्थानमा पुग्दैन फरक–फरक रहन–सहन र सामाजिक सद्भावबाट आएका हुन्छन्, कम्तीमा प्रहरीले कुन अवस्थामा के गर्नुपर्छ भन्ने ज्ञान हुनुपर्दछ, नागरिकमैत्री प्रहरीको आवश्यकता छ।”

जिल्ला प्रहरी कार्यालय बागलुङमा खटिएका सबै प्रहरीलाई प्रविधिमा जोड्ने र घटना भएको स्थान तत्कालै पत्ता लगाउने ‘लोकेसन ट्रयाप’को व्यवस्था मिलाइएको छभने प्रहरी कार्यालयका सबै संरचनालाई ‘डिजिटल’ बनाउने अभियान थालिएको छ। जिल्लामा ५८१ प्रहरी दरबन्दी रहेकामा ४३८ कार्यरत रहेका छन्।

Logo