आगलागीका पीडितहरूलाई गाउँपालिकाद्वारा राहत वितरण

आगलागीका पीडितहरूलाई गाउँपालिकाद्वारा राहत वितरण

केन्द्रबिन्दु
70
Shares

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका-१, पुरानागाउँमा शनिबार भएको आगलागीका पीडितहरूलाई गाउँपालिकाले राहत वितरण गरेको छ। पीडितलाई तत्काल आवश्यक पर्ने राहत र उद्धारका लागि गाउँपालिकाले राहत उपलब्ध गराएको हो।

आगलागीबाट पीडित फणिन्द्र गौतम र देवी गौतमको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए।

विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम गाउँपालिकाले पीडितहरूलाई तीस हजार रुपैयाँ नगद, ५० केजी चामल, ५ केजी दाल, दुई केजी नुन, ७५० ग्राम मसला, खाने तेल १० लिटर, चाउचाउ १ कार्टुन, प्याज २ केजी, आलु ५ केजी, चिनी २ केजी सिरक एक थान, डसना एक थान, तन्ना एक थान र त्रिपाल एक थान उपलब्ध गराएको हो।

आइतबार पीडितहरूलाई गाउँमै पुगेर गाउँपालिका अध्यक्ष पाहिम, उपाध्यक्ष बलिराज इङनाम, वडा नं. १ का अध्यक्ष प्रेमराज फोम्बो, वडा नं. ३ का अध्यक्ष बुद्धि गुरुङ, वडा नं.६ का अध्यक्ष एवम् प्रवक्ता कृष्णप्रसाद बाँस्कोटा, प्रमुख प्रशासकीय अधिकृत निराज शर्मा लगायतले राहत वितरण गरे।

शनिबार दिउँसो कोयाखोला नजिकको जंगलबाट अचानक सुरु भएको आगोले पुरानागाउँका चार परिवारका तीन घर र दुई वटा गोठ नष्ट गरेको थियो।

आगलागीले गणेश गौतम, बलराम गौतम, देवी गौतम र गोविन्द गौतमका ३ वटा घर र एउटा गोठ जलेर नष्ट भएका थिए। गणेश गौतम र बलराम गौतमको घरमा बन्धकीमा फणेन्द्र गौतमको चार जनाको परिवार बस्दै आएको थियो।

देवी गौतमको घरमा २ जना बस्दै आएका थिए। गोविन्द गौतमको घरमा भने काठपातमात्रै राखिएका थिए। आगलागीले एक करोड २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

Logo