ग्रामीण भेगका महिलामा पाठेघरको अधिक समस्या

ग्रामीण भेगका महिलामा पाठेघरको अधिक समस्या

केन्द्रबिन्दु
84
Shares

महोत्तरी। महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ। उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो।

लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो। समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ।

शिविरमा परीक्षण गरिएकामध्ये ३३ जनामा क्यान्सर र ४२ जनामा आङ खस्ने समस्या पाइएको शिविरको प्राविधिक टोलीका वरिष्ठ निरीक्षक हरिहर उप्रेतीले जानकारी दिए।

शिविरमा तीन सय ५० जनाको दोस्रो चरणको सूक्ष्म जाँच गरिएको जनाइएको छ। क्यान्सरको सङ्क्रमण भएमध्ये १९ जना २२ देखि ४० वर्ष उमेरसमूहका छन्। शिविरमा आङ खस्ने समस्याको प्रथम र दोस्रो चरणका १६ जनालाई ‘रिङ’ लगाइएको समाजका अध्यक्ष उमेश महतोले बताए।

क्यान्सर लागेकामध्ये आठ जना, आङ खस्ने समस्याको तेस्रो चरणका २६ जनालाई शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाएका छन्। यिनीहरूको शल्यक्रिया काठमाडौँका अस्पतालमा निःशुल्क गराइने शिविरको प्राविधिक सहयोगी संस्था सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले जनाएको छ।

शिविरमा क्यान्सर सङ्क्रमण पुष्टि भएका ३३ मध्ये २५ लाई यहीँ नै प्रारम्भिक उपचार थालिएको छ। प्रारम्भिक चरणको सङ्क्रमण पाइएकाहरूको औषधीय उपचार गरिएको र यिनीहरूले पाँचौँ महिनामा पुनः परीक्षण गर्नुपर्ने छ।

Logo