काठमाडौंको बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका मुख्य योजनाकारलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय धर्मराज विष्टको २०६४ असार २६ गते हत्या भएको थियो । सोभिता थापा र उनका भाइ विनोद थापासहित तीन जनाको समूहले कुटपिट गरी विष्ट सख्त घाइते बनाएका थिए । बेहोस भएका उनको पछि उपचारको क्रममा मृत्यु भएको थियो ।
कार्यालयकी डिएसपी सुरक्षा केसीको नेतृत्वको टोलीले थापालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
डिएसपी केसीका अनुसार, धर्मराज र सबिताबीच सामान्य चिनजान थियो । तर धर्मराजले सबितालाई बारम्बार जिस्काउने र तनाव दिने गरेका थिए । उक्त कुरा सबिताले आफ्ना भाइ बिनोदलाई बताएका थिए । दिदीको कुरा सुनेर बिनोदले आफ्ना साथीहरू रञ्जन खड्का र राजिब पाण्डेलाई बोलाएर कुटपिट गर्ने योजना बनाएको डिएसपी केसीले बताइन् । उनका अनुसार योजना बनाएसँगै सबिताले धर्मराजलाई फोन गरी शंखमूल पुलनिर बोलाएकी थिइन् ।
त्यहाँ बिनोद र उनका साथीहरू तयार अवस्थामा बसिरहेका थिए। धर्मराज आएपछि उनीमाथि रड र इँटा ढुंगाले प्रहार गरेर भागेका थिए । बिनोद, रञ्जन र राजिब त्यही बेला पक्राउ परेका थिए । उनीहरूले सजाय काटेर छुटिसकेका छन् । थापालाई प्रहरीले अदालतमा बुझाएको कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
प्रतिक्रिया