घोडादौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

घोडादौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

केन्द्रबिन्दु
98
Shares

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडादौड प्रतियोगितामा कास्कीको समरुङका दीपेन्द्र गुरुङ प्रथम भएका छन्।

अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानीसम्मको छ दशमलव पाँच किलोमिटर दुरी २८ मिनेट ४१ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो। बिजेता र उपविजेताको समयान्तर ५ सेकेण्ड रहेको छ। २८ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो भए।

प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. ५५ हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलाते लगायत ठाउँका २५ जना घोडालाई दौडाइएको थियो।

घोडादौडका लागि खिवाङ देखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल- भलखरा-लरेनी, कालिसार हुदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताको संयोजन गर्नुभएका घोडेपानीका घोडा व्यवसायी बिरेन गर्बुजा पुनले बताए। पर्यटन प्रवर्द्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए।

“घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,” घोडेपानीका घोडा व्यवसायी याम पुनले भने “सौखिन पर्यटकहरू घोडा चढेर यात्रा गर्न रुचाउँछन्। हिँड्न नसक्ने पर्यटकहरू घोडा चढेर गन्तव्यमा पुग्न पाएका छन्। घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ। ”

घोडेपानी युवा क्लब, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। फागु पूर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन्। घोडादौड अवलोकनका लागि पर्यटकहरूको आएका थिए।

पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरू आउने गर्छन्। म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ।

घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ। परापूर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो। समुन्द्री सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती छ।

Logo