आन्दोलनरत भण्डारीको पक्षमा अपाङ्ग महासंघ, देशभर आन्दोलन गर्ने चेतावनी

आन्दोलनरत भण्डारीको पक्षमा अपाङ्ग महासंघ, देशभर आन्दोलन गर्ने चेतावनी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुले स्थानीय सरकारबाट पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावलीमा व्यवस्था भए अनुसार स्थानीय सरकारबाट पाउनुपर्ने सहयोगी तथा हेरचाहकर्ताको सुबिधा आफू बसेको पालिकाबाट दाबी गर्दापनि नपाएको महासंघको भनाइ छ ।

उक्त सेवा सुविधा दिलाइ पाउँ भनी चैत्र ६ गतेदेखि काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिका बाहिर फुटपाथमा धर्ना बसिरहेका तनहुँ म्यादे गाउँपालिका ७ बस्ने स्पाइनल कर्ड इन्ज्युरी भई पूर्णअशक्त भएका दिपक भण्डारीको अवस्थाका बारेमा महासंघले गम्भीर ध्यानाकर्षण गराएको हो ।

महासंघले मंगलबार शन्तिवाटिकामा नै पत्रकार सम्मेलन गरेर उक्त विषयप्रति ध्यानाकर्षण गराउदैँ यसमा कुनै प्रकारको ढिलाइ भएमा सबै अपाङ्गता भएका व्यक्तिहरू आन्दोलित हुन बाध्य हुनेपनि जानकारी दिए ।

संविधान र कानुनमा स्पष्ट राखिएको अधिकार प्राप्तीको लागि धर्ना र अनसनमा उत्रनुपर्ने अवस्थाले सरकारको लापरबाहीलाई मात्र प्रदर्शन गरेको छैन यसले देशभरीका सबै अपाङ्गता भएका व्यक्तिले राज्यबाट हेपिएको महसुस गरेको अपाङ्गता अधिकारकर्मी दिपक भण्डारीले बताए ।

महासंघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावलीमा उल्लेखित व्यवस्था अनुसार भण्डारीको माग तत्काल पुरा गर्न र सो व्यवस्था अनुसारको सेवा सुविधा आवश्यक पर्ने देशभरिका अपाङ्गत भएका व्यक्तिका लागि सेवा उपलब्ध गराउन सबै स्थानीय सरकारहरूसँग समन्वय र पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

उनीहरुका मागहरु पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य व्यक्तिगत सहयोगी सेवा उपर गराइयोस, सरकारी संयन्त्रबाटै अनिवार्य निःशुल्क सहायक सामाग्री र सांकेतिक दोभाषे सेवा प्राप्त गर्ने व्यवस्था गरियोस र सेवा सुविधाहरूलाई स्थानीय तहमार्फत प्रदान गर्न ‘सामुदायिक सहायता सेव’ सम्बन्धी कार्यविधि बनाई सेवा प्रदान गरियोस भन्ने रहेका छन् ।

Logo