वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

केन्द्रबिन्दु
39
Shares

दमौली (तनहुँ) । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप रु दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन् ।

उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले रु ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले रु एक लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले रु ११ लाख, म्याग्दे गाउँपालिकाका २२ जनाले रु ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले रु ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले रु दुई लाख, देवघाट गाउँपालिकाका ११ जनाले रु २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले रु ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले रु दुई लाख ५० हजार क्षतिपूर्ति पाएका छन् ।

तनहुँबाहेक अन्य ठाउँका सात जनाले रु २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लङ्घन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए ।

रानाले भनिन्, “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो ।” सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ ।

Logo