डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले

डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले

केन्द्रबिन्दु
12
Shares

गुल्मी । गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौँको क्षति भएको छ। सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन्। दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन्।

शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए। बस्तीमा आगो प्रवेश गरेपछि इस्मा सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए। स्थानीयवासीलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो।

इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन्। इस्मा गाउँपालिका– २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा १३ घर र २६ बङ्गला जलेर नष्ट भएका छन।

त्यसैगरी इस्मा गाउँपालिका–४ को तिम्लेखर्कमा सात घर र १६ वटा बङ्गला र गोठसहित एउटा मन्दिर जलेको छ। सोही वडाको भड्किनामा एक घर र चारवटा बङ्गाला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिनुभयो। आगलागीका कारण ४० भन्दा बढी चौपाया जलेर मरेका छन्।

इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण ट्र्याक्टर चालक स्थानीयवासी १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्। उनीहरुको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ। घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शङ्करप्रसाद पोख्रेलले बताए।

आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। इस्मा गाउँपालिका र नेपाल रेडक्रसको सहयोगमा पीडित परिवारलाई तत्कालका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, किट, लाइट, पानी, चाउचाउ तथा भाँडाकुँडालगायतका सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए।

Logo