‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उनले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुर तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतीक राख्न आफूले पहल गर्नेसमेत बताएका हुन् ।

“नेपाल र भारतको ऐतिहासिक सम्बन्ध छँदैछ, त्यसैमा अयोध्या र जनकपुरको विशिष्ठ सम्बन्ध छ । त्यो सम्बन्ध धनुषयज्ञमा आधारित राम र सीताको विवाहले सम्भव भएको हो”, उनले भने, “त्यसैले जनकपुरवासीका तर्फबाट धनुष प्रदान गरिएमा त्यसलाई ऐतिहासिक राममन्दिरको दोस्रो तलामा बन्ने रामदरबारमा राख्ने विषयमा मेरो पहल रहन्छ । त्यसले हाम्रो सम्बन्धलाई थप मजबुत बनाउने मेरो विश्वास छ ।”

त्यसैगरी उनले नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरी ल्याइएको शिला (देवशिला) बाट रामललाको मूर्ति बनाउने भनिए पनि कालिगढले केही प्राविधिक पक्ष देखाएर प्रयोग नगरेको समेत बताए । हाल सो शिलालाई दैनिक पूजाअर्चना गर्ने गरी रामसेवक पुरममा राखिएको उनको भनाइ छ ।

“हामीले मूर्ति बनाउने भनेरै नेपालको कालीगण्डकी नदीबाट शिला लिइएको कुरा सबैको जानकारी मै छ । त्यहाँ मूर्ति बनाउनेक्रममा कालिगढले केही प्राविधिक कारणले प्रयोगमा ल्याउने अवस्था भएन तर हाल नेपालको पहिचान झल्किने गरी दैनिक हजारौँ भक्तजनले पूजाअर्चना गर्ने ठाउँमा राखिएको छ । त्यसको महत्व, सम्मान र आस्थामा कमी हुन दिएका छैनौँ”, उनले भने ।

त्यसक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले सीताबिना राम र जनकपुरबिना अयोध्या अधुरो रहने भन्दै राममन्दिरमा राखिने धनुष नेपालकै हुनु अझ बढी सान्दर्भिक हुने बताए । उनले भने, “भारतीय पक्षकै मागअनुसार नै हामी धनुषको स्वरुप, धातु, आकार बनाउन तयार छौँ । त्यसैले सीता र रामको सम्बन्धलाई सधैँ स्मरणीय राख्न पनि त्यहाँ नेपालको धनुष राख्नुपर्छ भन्ने हाम्रो मत हो । त्यसमा तपाईं (राय) को भूमिका महत्वपूर्ण छ ।”

उनीहरूबीच आगामी अक्टोबरमा द्विपक्षीय छलफल गरेर यो विषयलाई टुङ्ग्याउने सहमति भएको नेता निधिको सचिवालयले जनाएको छ ।

Logo