म्यान्मारकाे नेपाली राजदूतावासमा गरियाे बुद्धको प्राण प्रतिष्ठा

म्यान्मारकाे नेपाली राजदूतावासमा गरियाे बुद्धको प्राण प्रतिष्ठा

केन्द्रबिन्दु
42
Shares

म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ ।

साे अवसरमा यांगुनस्थित वनारसी नेपाली विहारका नौ जना भिक्षुहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका पदाधिकारीहरु, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यान्मार पर्यटन संघका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्ष लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले बुद्धले देखाएको आठ सत्य मार्गहरुका बारेमा प्रकाश पारेका थिए । आजकाे दिन संसारभरका बुद्धधर्मालम्वीहरु तथा सम्पूर्ण शान्तिप्रेमी मानवजातिका लागि महत्वपूर्ण रहेको बताउँदै उनले उपस्थित सबैलाई बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गरे ।

बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसंख्या बुद्धधर्मालम्वी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको विषयमा चर्चा गर्दै राजदूत घिमिरेले गौतम बुद्धले २ पटक म्यान्मार भ्रमण गरेको तथा बुद्धका केही कपालहरु यांगुनको श्वेडागन प्यागोडामा राखिएको र श्वेडागन प्यागोडामा राखिएका शाक्यमुनि बुद्ध, क्रकुछन्द बुद्ध, तथा कनकमुनि बुद्धका तस्विरहरु नेपालबाट ल्याएर राखिएको बताए ।

कार्यक्रममा भिक्षुहरुले धर्मदेशना गर्नुका साथै राजदूतावासबाट भिक्षुहरुलाई चिवर दान समेत गरिएको थियो ।

Logo