उखरमाउलो गर्मीले अत्तालिए काठमाडौंवासी [भिडियाेसहित]

उखरमाउलो गर्मीले अत्तालिए काठमाडौंवासी [भिडियाेसहित]

केन्द्रबिन्दु
45
Shares

‘उफ् गर्मी पनि कति साह्रै बढेको ? पहिलेपहिले त यस्तो उल्का गर्मीको महसुसै भएको थिएन’ काठमाडौँ उपत्यकाका नागरिकको वार्तालापको पहिलो वाक्य अहिले यही हुने गरेको छ । हुन पनि पछिल्ला दिनमा गर्मीको बढ्दो क्रमले धर्तीमा जुन रफ्तार लिएको छ यो सामान्य होइन । गर्मीयाममा पहिले–पहिले काठमाडौंमा पंखा आवश्यक नै हुँदैनथ्यो । तर अहिले त गर्मीले दिनको त कुरै नगरौं, रातभरी पनि पंखा चलाएर सुत्नुपर्छ । काठमाडौंवासी आफैं भन्छन्, पहिले काठमाडौंमा अलिअलि गर्मी त हुन्थ्यो तर शरीरको कपडा पसिनाले भिज्ने गरी गर्मी महसुस भएको थाहा थिएन ।

काठमाडौंबासीका अनुभवले मात्रै होइन, वैज्ञानिक तथ्यले पनि काठमाडौंमा उखरमाउलो गर्मी बढ्दै गएको पुष्टि गर्दछ । विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर, यस वर्षको जेठ २६, २७ र २८ गते अर्थात् जुन ८, ९ र १० तारिखमा अधिकतम तापक्रम क्रमशः ३१.९, ३३.८ र ३४.४ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

हुन त पछिल्ला दिनमा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो । तर, यता काठमाडौँको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र पुग्दा तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी । गर्मीको तात्तातो चर्चा काठमाडौँमै बढी देखिन्छ ।
काठमाडौं पहाडी जिल्ला हो । तराई मधेशका जिल्लाका तुलनामा पहाडी जिल्ला बढी शीतल हुन्छन् ।

तर काठमाडौंमा केही वर्षयता निरन्तर अधिकतम र न्यूनतम दुवै तापक्रम बढिरहेको छ । त्यसैले काठमाडौंमै दिउँसोको चर्को घाममा घर बाहिर निस्किन त मुस्किल हुन्छ नै राति पनि गर्मी भएर आनन्दले सुत्न सकिँदैन । काठमाडौं घना शहरको रुपमा विकास भएकाले पनि गर्मी बढ्दै गएको अनुमान गर्न सकिन्छ । किनकी उस्तै खालको भौगोलिक अवस्थिति भएको शहरी र ग्रामिण भेगको तापक्रम तुलना गर्ने हो भने शहरी भेगको तापक्रम बढी हुन्छ ।

त्यसो त ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरुलाई गर्मीले कति अत्याएको होला ? घाम भनेर काम छलेर बस्न पनि सबैलाई कहाँ पुग्ला र ? घामको प्रवाह नगरी काम गर्नेहरुलाई कति गाह्रो भएको होला ? त्यसको जवाफ भाग्नेहरुलाई नै थाहा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्ष मध्य र पश्चिम तराईका जिल्लाहरुमा तातो हावाको लहरको चेतावनी नवौंपटक जारी गरिसकेको छ । विभागले बिहीबारसम्म नै अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपाउन भन्दै सुचित गराएको छ । तराईका जिल्लामा त स्कूलहरु बन्द नै गरिएको छ । गर्मीयाममा लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको चिसो पेयपदार्थ, बियर, जाँडरक्सी नदिने, पङ्खाले हम्कने गर्नुपर्छ । भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने, बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने गर्न समेत सुझाव दिइएको छ । साथै नियमित पटक–पटक पानी तथा झोलपदार्थ प्रशस्त मात्रामा पिउन विभागले विज्ञप्तिमार्फत सुझाएको छ ।

Logo