वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा लागेका सबै भारतीय भएको बताएकी छन् ।
नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले अपलोड गरेको भिडियोमा उल्लेख गरिएको छ । यस्तो देखेर आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ । उनले त्यहाँका एक जना व्यापारीसँग गरेको कुराकानीका आधारमा नागरिकता बनाउन आउने सबै भारतीय भएको दाबी गरेकी छन् ।
फोटोकपी पसलका साहूले ‘कसैलाई नेपाली बोल्न आउँदैन, न त लेख्न नै, निःसन्देह भारतीय त हुन् नि !’ भन्ने प्रतिक्रिया दिएका छन् । सामाजिक अभियान्ताहरुले उनको दाबीमाथि प्रश्न उठाएका छन् । वीरगञ्जका अभियन्ता आशु सर्राफले उक्त भिडियोमा ‘के आधारमा तपाईंले सबैलाई भारतीय नागरिक भन्नुभएको हो’ भन्दै कमेन्ट गरेका छन् । वाग्लेले त्यसको जवाफ दिएकी छैनन् ।
सर्राफले ‘गोरो छाला नभएका हरेक व्यक्तिलाई गैर नेपाली देख्ने तपाईको मानसिकतालाई उपचार आवश्यक छ । बिनाप्रमाण भ्रम फिँजाउन सरल छ तर यथार्थ बताउन गाह्रो हुन्छ । बिन्ती गर्छु मलाई प्रस्ट पारिदिनुस् कुन आधारमा तपाईले उहाँहरूलाई गैर नेपाली भन्नुभएको हो ?’ उक्त प्रश्नको वाग्नेले कुनै जवाफ दिएकी छैनन् ।
गृह मन्त्रालयले उक्त महिलालाई खोजबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उक्त भिडियोले भ्रम फैलाएको बताए । लामो समयदेखि रोकिएको नागरिकता खुल्दा धेरै भिड लागेको तर कुनै पनि गैर नेपालीले नागरिकता नपाएको उनको दाबी छ ।
कडाइका साथ जाँच गरेर मात्र नागरिकता वितरण भईरहेको सीडिओ भट्टराईले बताए । गलत विवरण पेस गरी छोरीको नागरिकता बनाउन खोज्दा एक जनालाई आइतबार प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । गलत विवरण पेस गरी वंशजको नागरिकता लिन खोज्ने ६ जनालाई नियन्त्रण्मा लिएर कारबाही गरिएको छ । नागरिकता लिन आउने निवेदकका आमाबुवाको नागरिकतासहित बसोबासको प्रमाणका आधारमा नागरिकता दिने गरिएको छ ।
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भट्टराईले उनको सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै सोधिखोजी गरिएको बताए । जिल्ला प्रशासन कार्यालयकै कार्यसम्पादनसँग सम्बन्धित विषय भएकाले सामान्य सोधीखोजी गर्न भनिएको हो । ‘नागरिकको सुरक्षाबारे प्रशासनको चासो सदैव रहन्छ, रहनुपर्छ। प्रशासनले त यहाँको वस्तुस्थिति, सन्दर्भ, परिस्थिति सबै विश्लेषण गरेर हेर्नुपर्छ। हेरिरहेको हुन्छ। यही सन्दर्भमा उनको सुरक्षाबारे प्रशासनले चासो देखाएको हो। उनी सुरक्षित छन् कि छैनन्, कहाँ बस्छिन् भनेर चासो राख्नु सामान्य हो। विषयवस्तुलाई नकारात्मक बनाउने काम गरियो। यो सर्वथा गलत हो। उनलाई पक्राउ गर्ने, कारवाही गर्ने नियतले सोधखोज भएको होइन। त्यस्तो योजना छैन।’ सीडिओ भट्टराईले भने ।





























प्रतिक्रिया