विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा, प्राधिकरणले बेवास्ता गरेको गुनासो

विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा, प्राधिकरणले बेवास्ता गरेको गुनासो

केन्द्रबिन्दु
0
Shares

डोटी।

डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेको बताइएको छ ।

पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । विद्युत् अनियमितका कारण यहाँका मिल व्यवसायीदेखि इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको किरण इलेक्ट्रोनिक दिपायल पिपल्लाका किरण भण्डारीले बताए । उनले भने, “दैनिक विद्युत् अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ।” मिनेट मिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको गुनासो विद्युत् प्राधिकरणमा खबर गर्दा पनि सुनुवाइ नभएको उपभोक्ताको भनाइ छ । साँझ र बिहानपख तालीकाबिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन् ।

विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रशारण हुन नसकेको स्थानीय पत्रकार तेजु ओलीले जानकारी दिए । पछिल्लो समय विद्युत् अनियमितका कारण व्यवसायी, बैंक, सहकारी, गैरसरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका प्रबन्धक गणेशबहादुर विष्टले बताए। उनले भने, “दैनिक विद्युत् कटौतीले बैंकमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको छ, खाता खोल्नदेखि रकम भुक्तानीमा समेत समस्या हुने गरेको छ ।”

विद्युत् कार्यालय दिपायलका प्रमुख कुम्भ जोशीले चिसोले गर्दा कारण विद्युतको माग बढी तथा उत्पादन कम भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान हुने बताए । उनले भने, “विद्युतको माग र खपत बढी छ, उत्पादनमा केही कमी भएकाले समस्या भएको हो । त्यसको समाधानका लागि हामी लागिपरेका छौँ।”

Logo