मोक्ष चिन्तन ! धर्म चिन्तन ! लक्ष्य चिन्तन !

मोक्ष चिन्तन ! धर्म चिन्तन ! लक्ष्य चिन्तन !

केन्द्रबिन्दु
84
Shares

डा.चिन्तामणिनाथ योगी

आजभोलि सर्सर्ती हेर्दा समाजमा धर्मप्रति रुचि बढेको देखिन्छ, जिज्ञासा बढेको देखिन्छ तर साथै विभिन्न रुपमा धार्मिक व्यवसाय पनि बढेको देखिन्छ । सामान्यतः मूल्यांकन गर्दा जुन रूपमा  धर्मचर्चा, धर्मचिन्तन, योग चिन्तन, मोक्ष चिन्तन वा आध्यात्मिक संवाद देखिन्छन् सबै सकारात्मक नै छन् जस्तो लाग्छ । तर गहिरिएर जाँदा के साँच्चिकै श्रद्धालु जिज्ञासुहरूको संवाद बढेकै हो त ? धर्मचिन्तन गर्नेहरूको संख्या बढेकै हो त ? योग साधकहरुको संख्या बढेकै हो त ? भनेर पनि चिन्तनमा चिन्तन गर्न मन लाग्छ। ’धर्मस्य तत्त्वम् निहितं गुहायां’ भने जस्तै धर्मतत्व बुझ्न नसकेका हौं वा बुझ्न नचाहेका हौं ? भनेर सोच्न पनि आवश्यक भयो कि ? जस्तो लाग्छ । ‘धर्मस्य सूक्ष्मा गतिः’ भने जस्तै धर्मको सूक्ष्म रुप, रहस्य वा गति बुझ्न नसक्दा कतै आडम्बरी मार्गमा फस्दैछौं कि ? भनेर सतर्क हुने बेला आयो कि भन्ने पनि लाग्छ ।

आफ्नो कुनै स्वास्थ्यको समाधानका लागि मेडिकल प्रोसेसबाट कुनै विकल्प नपाउँदा वा समुचित सहारा नपाउँदा अन्तमा योग गर्ने व्यक्तिहरुलाई योगगुरु भन्ने ? साधक भन्ने? वा ग्राहक भन्ने ? वा सदस्य भन्ने ? वा उपचारग्राही, सेवाग्राही भन्ने ? प्रश्न पनि उठाउनु पर्ने हो कि ? यसैगरी निष्पाप, निष्पक्ष, सदाचारी, सात्विक, त्यागी जीवनमा पूर्ण समर्पित नभएका व्यक्तिले पनि हक हित अधिकार सहित, आर्थिक लाभ सहित शुल्क नै तोकेर, प्रतिशत नै तोकेर, विभिन्न प्रकारको बहानामा सदस्यताका ठेली कटाएर गरिने/गराउने धार्मिक क्रियाकलापलाई जागरण भन्ने कि ? अभियान भन्ने कि ? व्यवसाय भन्ने कि ? भनेर पनि चिन्तनमा चिन्तन गर्ने बेला आयो कि ? जस्तो पनि लाग्छ । एवमेव आजभोलि प्रारम्भिक ज्ञान वा साधना वा चिन्तन वा संस्कार वा समुचित जग नै नभएका व्यक्तिहरुले पनि एकैपटक मोक्षको कुरा गर्दा वा गहन ज्ञानको कुरा गर्दा वा उच्च वेदान्तको कुरा गर्दा साथै येनकेन अभ्यास पनि गरिहाल्दा समग्रमा कल्याणकारी हुन्छ कि हुँदैन ? भनेर पनि चिन्तनमा चिन्तन गर्ने बेला आएको छ ।

यसै सन्दर्भमा अस्ति एक जनाले अमेरिकाबाट फोन गर्नुभयो र वेदान्तको बारेमा केही बताइदिनुहोस् भनेर निवेदन गर्नुभयो साथै बालबालिकाहरुले बुझ्नेगरी भनिदिनुहोस् पनि भन्नुभयो । अनि मैले उहाँलाई भने– बालबालिकाहरुलाई बुझ्ने गरी त वेदान्त दर्शन भन्दा पनि गीता दर्शन राम्रो हुने हो कि ? अझ गीता दर्शन भन्दा पनि रामायण पो उपयुक्त हुने हो कि ? अथवा रामायण भन्दा पनि हाम्रो समग्र सनातन संस्कृतिका सरल व्यावहारिक सदाचारी पक्षहरु– मातृदेवो भव, पितृदेवो भव आदि– को बारेमा व्याख्या विश्लेषण गरिदिने हो कि ? वा त्यस्ता जिज्ञासु विद्यार्थीका लागि, बालबालिकाका लागि हाम्रा सनातन शास्त्रहरुमा आधारित केही नैतिक कथाहरुलाई वैज्ञानिक, व्यावहारिक, वैश्विक तरिकाले व्याख्या गरिदिने हो कि ? भनेर पनि मैले उहाँलाई उत्तर दिने प्रयास गरें । यो दृष्टान्तबाट के देखिन्छ भने जिज्ञासुहरुलाई पनि के कुरामा कसरी कति जिज्ञासा गर्ने हो ? भन्ने बारेमा स्पष्टता नभएको देखिन्छ । गुरुहरूले, पण्डितहरूले, विद्वान्हरूले पनि कसलाई कुन स्तरमा, श्रेणीमा राखेर मार्गदर्शन गरिदिनुपर्छ भन्ने कुराको अत्यधिक गंभीर भावले चिन्तन नगरिकनै आफूले जानेको विषय मात्र थोपरिदिने, आफ्नो संस्था र संप्रदायको माला झटपट भिराइदिने, आफ्नो संस्थाको सदस्यता ठेली मात्र कटाइदिने व्यावसायिक वृत्ति बढ्यो कि ? यस्तो हतारोको प्रयोजन के ? गुरुहरूको, पण्डितहरूको, विद्वान् हरूको काम त कदापि व्यावसायिक होइन, मात्र आध्यामिक हो नि ।

यी सबै कुराहरुले गर्दा अहिले चाडपर्वको प्रसंगमा, मठ मन्दिर आदिको प्रसंगमा, वा विभिन्न प्रकारका धार्मिक सभा सम्मेलन, कथावाचन आदिका प्रसंगमा एक प्रकारको उत्साह देखिए तापनि के ती साँचिकै परिवर्तनकारी, कल्याणकारी, रुपान्तरकारी जीवनदायिनी भएका छन् त ? वा हुन सक्छन् त ? भन्ने गम्भीर चिन्तन सहित यस लेखमा केही कुराहरु उठाउने प्रयास गरिएको छ ।

केही दिन पहिले एक जना साधकले फोनद्वारा अचानक मोक्षको संबन्धमा प्रश्न गर्नुभयो । अब उनको यस प्रश्नको उत्तर छैन भनूँ भने मसँग छ; छ भनूँ भने मसँग छैन । किनकि यो विषय आफैमा गहन दार्शनिक विषय हो, सूक्ष्म हो, आध्यात्मिक पनि हो । यसका धेरै अंगहरू छन् । सोझो तरिकाले मैले मलाई आफै नै मोक्षको अनुभूति भाको छैन, तिमीलाई मोक्ष कसरी सिकाउँ ? भनेर पनि भएन ।  आजभोलि देखापरेका व्यावसायिक गुरुको शैलीमा मेरो चेला बन, म तिमीलाई मोक्ष दिन्छु भनेर ठेक्का लिनु पनि भएन । पात्रताको पूर्ण अध्ययन बिना गरिएका सबै लेनदेन अन्तमा घातक नै हुन्छन् । सधैं सबै प्रसंगमा रामकृष्ण परमहंस र स्वामी विवेकानन्दको दृष्टान्त पनि त जोड्न नमिल्ला नि ।

मेरो विचारमा त आफ्नो जीवनलाई आफै सम्मान गरेर अत्यन्तै सभ्य शान्त संयमित सात्विक रुपले अगाडि बढे पनि पुग्छ नि । किन मोक्षको चिन्ता ? आशा वा आसक्ति ? मृत्यु पश्चात् पाइने पौराणिक मोक्षको चाहना पनि किन ? अहिले त सबैभन्दा पहिले अनिद्राबाट मोक्ष चाहिएको छ; अहंकारबाट मुक्ति चाहिएको छ; घृणाबाट, स्वार्थबाट, नकारात्मकताबाट, व्यक्तिवादबाट मुक्ति चाहिएको छ; अज्ञानको कालो बाक्लो डरलग्दो अन्धकारबाट मुक्ति चाहिएकोछ। फेरि अर्को कुरा चाहिं, मुक्तिको नाममा सिङ्गो समाजको समुन्नतिको जुन हाम्रो प्रथम मानवीय दायित्व छ,  त्यो दायित्वबाट पनि त भाग्नुभएन नि, पन्छिनुभएन नि ।

अर्जुन पन्छेनन् कुरुक्षेत्रबाट; राम पन्छेनन्, सोह्र हजार वर्ष जति राज्य गरे । हामी किन पन्छिने त? कृष्ण पन्छेनन्; त्यत्रो कंसको वध गरे, त्यत्रो महाभारतमा लिडरशिप गरे; हामी किन पन्छिने त ? राजर्षि जनक पन्छेनन् हलो समेत जोते । हामी किन पन्छिने त? गोरखनाथ पन्छेनन्, पृथ्वीनारायण शाह भेटिन्छन् कि ? द्रव्य शाह भेटिन्छन् कि? रत्नपरीक्षक भेटिन्छन् कि ? को को भेटिन्छन् ? कहाँ कहाँ भेटिन्छन् ? भनी खोज्दै आशीर्वाद दिककदै हिंडे । हामी किन पन्छिने त ? मलाई त यो समाजकै मुक्तिमै आफ्नो मुक्ति देखिन्छ । यी दीनदुःखीको सेवामै सारा प्रज्ञा क्रमशः खुलेको जस्तो लाग्छ । 

आजभोलि फेसबुकमा ’आफ्नो खुसी हेर, मात्र आफ्नो खुसी, मात्र आफ्नो जिन्दगी’ भनेर जुन अधुरो अधुरो प्रवचन गर्दै हिंड्छन् ती व्यावसायिक विद्वान्हरूको जीवनमा नै खुशी छैन कि जस्तो पनि लाग्छ । स्वबाट स्वत्वको यात्रा हुनुपर्नेमा स्वार्थमा गएर पो खुम्चिए कि ? जस्तो लाग्छ । ’अपनी खुसी, अपनी जिंदगी, अपने लिए जिओ“ भनेकोमा पनि ब्रम्ह देख्न सक्नुपर्छ । ब्रम्ह भनेको समष्टि भाव हो । समष्टि भन्दा अलग जुन ’म’ हो त्यो ’म’ त अहंकार हो, त्यो त व्यक्तिवाद हो, अन्धकार हो । अहंको सकारात्मक रुप ब्रम्ह हो भने नकारात्मक रूप अहंकार हो; अहं को सीमित रूप व्यक्तिवाद हो भने उदार रुप अध्यात्मवाद हो ।

मलाई त भजनबाटै, ध्यानबाटै, प्रार्थनाबाटै, सेवाबाटै, स्वधर्मबाटै, सत्संगबाटै विभिन्न प्रकारका सनातन परम्परागत ज्ञानगुनबाटै मुक्तिको अनुभूति भै राख्या छ । मलाई छुट्टै पुराण आदिमा वर्णन गरिएको मोक्षको न आशा छ, न चाहना छ । म त सनातन चिन्तन र साधनामा छु । यस सनातनमा नै ध्यान पनि छ, भजन पनि छ, प्रार्थना पनि छ। यसैमा सेवा, परोपकार पनि छ, कर्मयोग पनि छ, भक्तियोग पनि छ, ध्यानयोग पनि छ, राजयोग पनि छ, हठयोग पनि छ, सबै छ । यसैमा वेद छ, बुद्ध छ, महावीर छ, गोरखनाथ छ । यसैमा हाम्रा सम्पूर्ण संस्कृति संस्कारका कुराहरू छन्, पुर्ख्यौली ज्ञान विज्ञान दर्शनका कुराहरू छन् । ’मद्भक्ताः यत्र गायन्ति तत्र तिष्ठामि नारद’ भने जस्तै यही मृत्युलोकमै अमृतलोक छ ।

हाम्रो यात्रा अनन्त छ, साँच्चिकै अनन्त छ । थाहा छैन, यसको अन्तिम छोर के हो ? भनेर । तर यो अनन्त यात्रामा एकदमै असीम आनन्दका साथ अनन्त भावका साथ हिंडिराख्ने हो । यो यात्रा नै मुक्ति हो । यो यात्रामा हिंड्दै जाँदाखेरि पनि कति अहंकार बाँकी रहला ? कति स्वार्थ बाँकी रहला ? कुनै संस्थाको बढी माया होला ? कुनै ठाउँको बढी माया होला ? कुनै व्यक्तिविशेषसँग, वस्तुविशेषसँग, संस्थाविशेषसँग, कार्यविशेषसँग केही न केही मोह पनि होला ? त्यो सब मोह पनि त क्रमशः छुट्नु पर्यो। ज्ञानादेव क्रमशः ज्योतिर्गमय हुँदै जानुपर्यो । त्यो सबै छुटेपछि यात्रामा हिंंड्दै जाँदा कतै  कुनै संकोच रहेन, आसक्ति  रहेन, नकारात्मकता रहेन, अहंकार रहेन भने जीवनमै मोक्ष भैहाल्यो नि । मोह र मोक्ष बीच दूरी पनि के पो छ र ? सबै उही आफ्नै मनकै खेल त हो नि । मनले नै मोह छ, संसार छ र फेरि उही मनले नै मोक्ष छ, ईश्वर छ । उन्मनी बन्ने वा नबन्ने ? आफ्नै निर्णय त हो नि । यात्रा नै मुक्ति हो । तर यस्तो चेतना यात्रा जुन अनन्त होस्, जुन यात्राको कुनै मन्जिल पनि नहोस । यात्रा आफैमा मन्जिल होस् । यात्रा आफैमा साधन र साध्य होस् । यात्रा आफैमा मार्ग र लक्ष्य पनि होस्। “बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते“ स्वतः सिद्ध होस् ।

मुक्तिकै सम्बन्धमा अझ गम्भीर चिन्तन गर्दै जाँदा हाम्रा ऋषिहरुका सुन्दर उपदेशलाई जति जति अनुसरण गरिन्छ उति उति नै लाभ हुन्छ । स्पष्ट रूपमा भनिएकै छ– ’विषयान् विषवत् त्यज’,अर्थात् विषयहरूलाई विष समान सम्झेर त्याग गर। यहाँ कति सुन्दर विश्लेषण गरिएको छ भने, विषयहरूलाई त्याग गर भनेको छ; व्यक्ति विशेषलाई त्याग गर भनिएको छैन । समाजलाई, राष्ट्रलाई, विश्वलाई पनि त्याग गर भनेको छैन । कुनै दायित्व, कर्तव्यलाई त्याग गर पनि भनेको छैन, तर विषयवासनालाई त्याग गर भनेको छ । जति जति विषयवासना बढ्छ जीवन उति नै विषमय बन्छ । किनकि जति जति विषयवस्तुप्रति आसक्ति बढ्छ त्यही आसक्तिबाट क्रमशः आक्रोश बढ्छ र त्यही आक्रोशबाट क्रमशः अहंकार बढ्छ र अनि त्यही अहंकारबाट क्रमशः मानिसको सम्पूर्ण जीवन नष्ट हुन्छ ।

यहाँ विचित्रको कुरा के छ भने, विषय वासनालाई त्याग गर्ने जुन ऋषिहरूको उपदेश हो, आदेश हो, त्यसलाई सही तारीकाले बुझ्न नसकेर वा बुझ्न नचाहेर आफ्नो कर्तव्य र दायित्वलाई त्याग गर्नेहरूको संख्या समाजमा आजभोलि बढ्दै गएको देखिन्छ । त्याग न त वस्तुको हो, न कुनै कर्तव्यकोे हो, न कुनै व्यक्तिको हो, न कुनै घर परिवारकोे हो । त्याग मूलतः वासनाकोे हो, विषयवासनाकोे हो, स्वार्थकोे हो, व्यक्तिवादकोे हो, अहंकारकोे हो, अनन्त, अतृप्त, इच्छा र कामनाहरूको हो । त्यसकारण मुक्तिका नाममा घर परिवार छाडेर, सामाजिक दायित्व छाडेर, विश्ववकल्याणका पवित्र संकल्प सेवा छाडेर होइन । केवल भजनको नाममा, वा केवल ध्यानकोे नाममा वा केवल पहेंलो लुगा लगाएर कतै कुनै परिवर्तन हुँदैन है, कतै कुनै प्राप्ति हुँदैन है भन्ने बारेमा हामी स्पष्ट हुन सक्नुपर्छ । यसरी स्पष्ट हुन सकेनौकक भने मुक्तिको नाममा हामी आफु पनि अन्धकारको दलदलमा फस्छौं र अरूलाई पनि अन्धकारकोे दलदलमा फस्न प्रेरित गर्छौ ।

राजर्षि जनक र ऋषि अष्टावक्रकोे जुन सुन्दर संवाद अष्टावक्र गीतामा छ त्यो विश्वको एक अनुपम संवाद हो । बीस अध्यायमा बाँडिएको यस सानो ग्रन्थमा हाम्रै नेपालका राजर्षि जनक प्रश्न गर्छन् भने आठ ठाउँबाट बाङ्गो शरीर भएका ऋषि अष्टावक्र उत्तर दिन्छन् । ज्ञानकोे साधनामा वा ब्रह्मको साधनामा समर्पित हुन चाहने जिज्ञासु श्रद्धालुका लागि यो अष्टावक्र गीता अत्यन्तै मननीय ग्रन्थ हो । पहिलो अध्यायकै पहिलो श्लोकमा राजर्षि जनक श्रद्धावनत भई ऋषि अष्टावक्रलाई प्रश्न गर्छन् 

कथं ज्ञानमवाप्नोति ? कथं मुक्तिर्भविष्यति ?

वैराग्यं च कथं प्राप्तं ? एतत् ब्रूहि मम प्रभो ।।

यहाँ तीन ओटा प्रश्न छन; ज्ञान कसरी प्राप्त हुन्छ ? मुक्ति कसरी हुन्छ र वैराग्य कसरी प्राप्त हुन्छ ? यी तीन ओटा प्रश्न अलग अलग भएता पनि यी तीनै प्रश्न अत्यन्तै महत्वपूर्ण र अन्योन्याश्रित छन् । यी तीन मध्येमा एउटा पनि हटाइदियौं भने यसले पूर्णता प्राप्त गर्दैन । ज्ञानले मुक्ति दिन्छ र वैराग्यले मुक्ति दिन्छ,  एउटा व्याख्या यस्तो हुन्छ । अर्को व्याख्या ज्ञानद्वारा वैराग्य हुन्छ, वैराग्यद्वारा, ज्ञानद्वारा मुक्ति हुन्छ। अर्को व्याख्या ज्ञानको रूपान्तरण मुक्तिमा हुन्छ , वैराग्यकोे रूपान्तरण मुक्तिमा हुन्छ । मुक्ति भनेकै मात्र रुपान्तरण हो । तनमै रहेर चेतनकोे बोध हो । शरीरमै रहेर शरीरीकोे बोध हो । देहमा रहेर  देहीको बोध हो भन्ने कुरा हामी स्पष्ट हुन सक्नु पर्छ । नबुझ्नेहरू र बुझ्न नचाहनेहरू ज्ञानको नाममा मात्र शास्त्र पल्टाइरहेका छन् ; रातदिन शास्त्रीय तर्क वितर्क र रटानमा छन् भने कोही वैराग्यको नाममा दाढी पालिरहेका छन् ; मात्र पीत वस्त्र धारण गरिरहेका छन् । भित्रैबाट ज्ञान– ध्यान पाकेको छैन भने पहेंलो रङ्गले रंगाएर मात्र के पो हुन्छ र ?  भित्रैबाट प्रकाश खुलेको छैन भने बाहिरबाट आँखा मात्रै चिम्लेर के पो हुन्छ र ? वैराग्य भनेको छाड्नु हो कि जाग्नु हो ? वैराग्य भनेको कुनै कुरालाई, कुनै व्यक्तिलाई वा कुनै दायित्वलाई पन्छाएर भाग्नु हो ? वा समग्रमा जाग्नु हो ?

गीताको चौथो अध्याय ज्ञानकर्मसन्यासयोग हो भने पाँचौं अध्याय कर्मसन्यासयोग हो। यसले पनि ज्ञान, कर्म, सन्यास, योग आदि सबै एक अर्काका परिपूरक विचारधारा हुन्, परिपूर्णताका आधार हुन् भनी स्पष्ट सङ्केत गरेकोछ । उछिट्टिने, पन्छिने वा अलग्गिने खालका कुविचारहरु व्यक्ति, समाज र समग्र मानवकै लागि घातक हुन् भनी स्पष्टतः भनिएकै छ । योगात्मक रुपले अघि बढ्न सकिएन भने त अन्त्यमा वियोग मात्रै हात लाग्छ ।

वैराग्य भनेको त मूलतः राग नहुनु मात्र हैन अपितु विशेष रूपले राग हुनु पनि हो। राग नहुनु वैराग्य हो भन्ने अर्थ लगाउँदा कता कता नकारात्मक सन्देश बढी प्रवाहित भएको लाग्छ भने विशेष रूपले राग हुनु नै वैराग्य हो भन्दा सकारात्मक संदेश प्रवाहित भएको देखिन्छ । त्यसो भए विशेष रूपले राग कता हुन्छ? के मा हुन्छ ? भन्दा जीवन प्रतिको, जीवनी शक्ति प्रतिको, जीवन तत्व प्रतिको अस्तित्व प्रतिको, चेतना प्रतिको, परा चेतना प्रतिको, परा शक्ति, परमात्मा परमेश्वर प्रतिको जुन विशेष राग हो त्यही नै वैराग्य हो भन्ने बुझ्न बुझाउन सक्यौं भने यो यात्रा झन् बढी सकारात्मक र श्रद्धावान् हुन्छ ।

हाम्रो सनातन हिन्दू संस्कृतिमा मोक्षलाई जीवनकोे अनिवार्य अङ्गसँग जोडिएको छ । चार आश्रम भनी स्पष्ट व्याख्या गरिएको छ– ब्रह्मचर्य आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र सन्यास आश्रम। सन्यास आश्रम भनेकै मोक्ष आश्रम हो । सन्यास र मोक्ष शब्दका हिसाबले भिन्न छन् तर तत्वतः अभिन्न नै छन् । गीताको १८औं अध्यायको नाम नै मोक्षसन्यासयोग हो । मोक्ष जीवनको पूर्णता हो, जीवनकोे उत्तरावस्था हो, आनन्द अवस्था हो ।

यसैगरी हाम्रो सनातन दर्शनमा चार पुरुषार्थ– धर्म, अर्थ, काम, मोक्ष– कोे ज्यादै नै महत्व छ। चार पुरुषार्थ धर्म अर्थ काम मोक्ष मध्ये मोक्षलाई पुरुषार्थमै राखिएको हुनाले यो त जीवनकोे एक प्रकारले अनिवार्य दायित्व, विशिष्ट उद्देश्य वा लक्ष नै हुन पुग्यो। तर यो मोक्षका लागि पनि धर्मको अति आवश्यकता छ; अर्थात् नैतिकताकोे, आर्थिक सदाचारकोे– आचारः परमो धर्मः– अर्थात् जीवनका मूल्यमान्यताहरुको तथा हाम्रा धार्मिक आचरणहरूकोे– सत्यं वद धर्मं चर स्वाध्यायान्मा प्रमद मातृदेवो भव पितृदेवो भव आचार्यदेवो भव आदि । अनि यसरी धर्मको जग बनाएर धर्मकै समग्रमा परिपालन गरेर जुन अर्थोपार्जन गरिन्छ , त्यो अर्थोपार्जन परिवारकल्याण सहित समग्र विश्वकल्याणकोे आधार बन्छ । त्यो अर्थोपार्जन– आत्मनो हिताय जगत् हिताय च– को एक बलियो आधार बन्छ । अनि यसरी नै धर्मपूर्वक, सदाचारपूर्वक कामोपभोग गर्यौं भने त्यो कामोपभोग पनि सृष्टिपरम्पराकोे, वंशपरम्पराकोे एक सशक्त आधार बन्छ । सृष्टिपरम्परा पनि चाहियो, सन्तानपरम्परा पनि चाहियो त्यसका लागि काम पनि चाहियो तर कस्तो काम ? जहाँ रामको मर्यादा पनि छ । कस्तो काम ? जहाँ धर्मको प्रकाश पनि छ । कस्तो काम ? जहाँ शरीरकोे सुख भन्दा पनि परिवारको, समाजप्रतिकोे , विश्वप्रतिकोे कल्याण भाव पनि छ । यसरी धर्म अर्थ कामकोे परिशीलन गर्दै गएपछि त्यसैमा परिपूर्णता प्राप्त गर्दै गए पछि त एक दिन मोक्ष पनि स्वतः घटित हुन्छ ।

त्यसैले यहाँ अत्यन्तै गम्भीरतापूर्वक  प्रश्न गर्न मन लाग्छ । मोक्ष भनेको कुनै गरिने प्रक्रिया हो ? वा पूर्णता हो? घटित हुने अवस्था हो ? मोक्ष कुनै पृथक् यात्रा हो ? वा धर्म अर्थ कामकै परिशीलन गर्दै जाँदा स्वतः प्राप्त हुने कुनै विशेष महान् परिवर्तन हो ? मोक्षको प्राप्ति भनेको अर्थोपार्जन छाडिदिने हो ? काम–उपभोग छाडिदिनु हो ? विश्वसँगकोे सम्बन्ध छाडिदिनु हो ? वा सम्बन्धहरुलाई सही अर्थ र दिशा प्रदान गर्दै आफु स्वयं संयमित बन्दै, सजग बन्दै, समुन्नत बन्दै, श्रद्धावान् बन्दै, समर्पित बन्दै , अन्त्यमा रूपान्तरित हुने हो । मोक्षको यही सहज प्रक्रियालाई बुझ्न नसक्दा पनि धेरै मानिसहरू झन् बढी अल्मलिएका छन् कि भनेर प्रश्न पनि गर्न सकिन्छ। गीतामा अर्जुनले–न कांक्षे विजयं कृष्ण न च राज्यं धनानि च–भनेर गाण्डीव बिसाएको भए के त्यो मोक्ष हुन्थ्यो र ? सिद्धार्थले अब त ज्ञान प्राप्त गर्न सकिन्न, मुक्ति हुँदैन भनेर शरीर विसर्जित गरिदिएको भए के त्यो मोक्ष वा निर्वाण हुन्थ्यो र ?

निष्कर्षमा भन्नुपर्दा अहिले समाजमा कस्तो देखिन्छ भने अधिकांश व्यक्तिहरु धर्मविमुख तामसी जीवन बिताइरहेका छन् भने केही व्यक्तिहरू धर्मको मर्म नबुझ्दा झन् अल्मलिएका पनि छन् । माया मिली न राम भन्ने अवस्थामा पुगेका छन् । झन् त्यसमा पनि केही सीमित व्यक्तिहरू त सत् शास्त्रज्ञानकोे अभावमा , सत् गुरुकोे अभावमा, सत् चिन्तन र साधनाकोे अभावमा तथा सत् संगकोे अभावमा गहन अन्धकारमा फस्दै गएका छन् तथा आफ्नो परिवार, समाज र विश्वलाई पनि अन्धकारमै धकेलिरहेका छन्।

तसर्थ असतो मा सद्गमय , तमसो मा ज्योतिर्गमय , मृत्योर्मा अमृतं गमयकोे साधना गरौँ ; ऋते ज्ञानान्न मुक्तिः लाई बुझौँ ; सहज रुपले आश्रम व्यवस्थाकोे परिपालन गर्दै मोक्षरूपी पुरुषार्थ प्राप्त गरौँ; हँसिबा खेलिबा धरिबा ध्यानं सहित जीवनलाई सार्थक बनाऔं; सहजै सहजै चलेगा रे अवधु भन्ने आदेशानुसार सहज मोक्ष साधनामा रम्दै जाऔं। ॐ तत् सत !!! जय शिवगोरख !!!

Logo