धिरेन्द्र कृष्ण शास्त्रीजी र स्वामी आनन्द अरुणको अन्तरसम्बन्ध

धिरेन्द्र कृष्ण शास्त्रीजी र स्वामी आनन्द अरुणको अन्तरसम्बन्ध

केन्द्रबिन्दु
546
Shares

स्वामी ध्यान आशिष

नेपालको कुम्भनगरी प्राचिन हरिद्वार सुनसरी जिल्लाको बराह्क्षेत्र नगरपालिकामा रहेको कोशी नदीको किनारमा अवस्थित चतरामा केही महिनाअघि  महाकुम्भ मेला लागेको थियो । महाकुम्भ २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ३० गतेसम्म एक महिना चल्यो । महाकुम्भ मेलाको सन्दर्भमा पाँच दिने हनुमत्कथा बाचनको लागि भारतको मध्यप्रदेश राज्यको बुन्देल खण्ड छत्रपुर जिल्लामा रहेको बागेश्वर बालाजी धामका पिठाधीश श्री धिरेन्द्रकृष्ण शास्त्रीजीको चतरा आगमन भएको थियो  । उनले २०८१ बैशाख ५ गते बाट बैशाख ९ गतेसम्म पाँच दिन हनुमत्कथा बाचन गरेका थिए  । २८ बर्षे एक उत्साही, साहसी अनि आत्मविश्वासका साथ बोल्ने धिरेन्द्र कृष्ण शास्त्री अहिले भारतको धार्मिक आकाशमा चर्चित नाम हो । उनको कथावाचनलाई प्रत्यक्ष रुपमा सुन्ने अभिलाशा लिएर ओशोको शिष्यको रुपमा जीवन अगाडि बढाइरहेको यस पंक्तिकार पनि उक्त कथामा सहभागी भएको थियो ।

अध्यात्मलाई विज्ञान र तर्कको कसीबाट उतारेर आफ्नो प्रवचन दिने अनि धर्मलाई बैज्ञानिक ढंगबाट विश्लेषण गर्ने २०औं शताब्दीका महान गुरु ओशोको ध्यान गरिरहेको अनि उहाँकै मार्गदर्शनमा आफ्नो आध्यात्मिक यात्रामा हिडिरहेको मेरो लागि धिरेन्द्र कृष्ण शास्त्रीजीको कथा ओशोको प्रवचन भन्दा अनेक ढंगले फरक लाग्यो  । हरेक कुराको विश्लेषण त्यस कुरालाई नजिकबाट अध्ययन गरेपछि गर्नुपर्दछ भन्ने मान्यता राख्ने मैंले यस पटक उनलाई नजिकबाट नियाल्ने प्रयास गरें । बागेश्वर सरकारको रुपमा चिनिएका श्री धिरेन्द्रकृष्ण शास्त्रीलाइ भेट्नका लागि अनि उहाँको कथावाचन श्रवण गर्न ओशो तपोवन काठमाडौंबाट ओशोका अन्तरंग शिष्य तथा नेपालमा ओशो अभियानका प्रणेता स्वामी आनन्द अरुण पनि आएका थिए  । स्वामी आनन्द अरुणज्युको  सत्संगमा हुर्किएको म उहाँसँगै  धिरेन्द्र कृष्णजीको कथावाचनमा सहभागी बनें । इन्डियाका प्रायः सबै गुरुहरुलाई भेट्न रुचाउनुहुने ओशो शिष्य स्वामी आनन्द अरुण र श्री धिरेन्द्रकृष्ण शास्त्रीजीको बहुत राम्रो मित्रता छ । पहिलो र दोस्रो दिन त स्वामी अरुणलाई कथाबाचक शास्त्रीले आफ्नै गाडीमा बसाएर कथास्थलसम्म लगे । स्वामी आनन्द अरुणलाई मन्चमा देख्ने बित्तिकै कथाबाचक धिरेन्द्र कृष्णजीले ओशोको मुक्तकण्ठले प्रसंशा गर्न थाल्दछन । कथास्थलमा उपस्थित बिशाल जनसागरको बिचमा जव धिरेन्द्र कृष्ण शास्त्रीले महान गुरु ओशोको बहुत उत्साही ढंगले प्रसंशा गर्दछन अनि ओशोका दिवाना स्वामी अरुण खुशीले दंग हुन्छन् । मलाई त कता कता  बिशाल र भब्य  साधकजनहरुको उपस्थितिमा धिरेन्द्र कृष्ण शास्त्रीको मुखबाट ओशोको प्रशंसा सुन्नकै लागि स्वामी अरुण कथा स्थलमा आएजस्तो भान हुन्छ ।

जगतगुरु श्रीरामानान्दाचार्य सेवापिठ चतराको आयोजनामा कोशी नदीको किनारमा बनाइएको ब्यवस्थित बिशाल पन्डाल भित्र श्री धिरेन्द्र कृष्ण शास्त्रिजीको कथा भएको थियो । उनी यसपटक महायोगी सिद्धबाबा कृष्णदासजीको निमन्त्रणामा दोस्रो पटक नेपाल आएका हुन्  । त्यहाँ  हरेक दिन करिव ८० हजार जना कथामा सहभागी थिए भने चौथो दिन भएको दिब्य दरबारमा करिब एक लाख भन्दा बढी व्यक्तिहरु सहभागी भएका थिए । कथाबाचक शास्त्रीजीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिशाल सुरक्षा दिएको थियो । बैशाख ५ गते शास्त्रीजीलाई जगतगुरु श्रीरामानान्दाचार्य सेवापिठ परिसरभित्र बन्न लागेको राम मन्दिरको पनि शिल्यान्याश गरेका थिए । पाँचदिने चतरा बसाइकै बिचमा शास्त्रीजीले धरानको पिण्डेश्वर, बुडासुब्बा, बराह क्षेत्रलगायतका धार्मिक महत्वका ठाउँहरुको पनि भ्रमण गरेका थिए ।

२८ बर्षका एक बिराट आत्मविश्वासका साथ प्रस्तुत हुने यी युवा गुरु अहिले भारतमा बहुत चर्चित अनि बिबादास्पद छन् । सनातन हिन्दु धर्मका कट्टर पक्षपाती उनी हिन्दु धर्म माथिको कट्टरता अनि उनको दिब्य दरबारको नामले चिनिने समारोहमा  साधकहरुको बीचबाट व्यक्तिहरुलाई मन्चमा बोलाइ पर्चा लेख्ने प्रसंग  सबैभन्दा बढी चर्चा र बिबादको बिषय रहँदै आएको छ । चतरामा पनि उनले चौथो दिन बैशाख ८ गते दिउँसो दिब्य दरबार लगाई बिशाल जनसागरको बीचबाट केहि व्यक्तिहरुलाई मन्चमा आफू नजिकै बोलाइ अग्रिम उनीहरुको  समस्या र जिज्ञासा पर्चामा लेखेका थिए । जुन उनले सबैको सामू भनेका थिए । उनले ति व्यक्तिहरुको समस्याको समाधानको लागि सुझाबहरु पनि दिएका थिए । म चमत्कार देखाउन आएको होइन जुन हनुमानको पछाडि म पागल छु तिनै हनुमानको पछाडि तपाईंहरुलाई पनि दिवाना बनाउन नेपाल आएको हो भन्नुहुने उनको दिब्य दरबारमा उनको क्रियाकलाप चमत्कारयुक्त देखिन्थ्यो । उनले भारत र नेपाल एक अर्काका परिपुरक देशहरु हुन् भन्दै यी दुवै देशलाइ हिन्दुराष्ट्र बनाउनु पर्दछ भनि सनातन हिन्दु धर्मको वकालत गरे । उनले कथा बाचनको सुरुमै भने– म सबै धर्मलाई सम्मान गर्दछु तर म हिन्दु सनातनको कट्टर हुँ । उनले अगाडि भने, ‘मैंले आफ्नो बाउलाई आफ्नो बाउ भन्न किन लजाउनु पर्यो, उनले प्रश्न गरे,‘आफ्नो बाउलाई आफ्नो बाउ नभनी छिमेकीको बाउलाई आफ्नो बाउ भन्ने त ?’

ओशोले अध्यात्मलाई बिज्ञान र तर्कको कसीबाट गुज्रन्थे । ओशोको प्रवचनमा अध्यात्मप्रतिको विश्लेषण एकदम बैज्ञानिक  र तर्कसंगत हुन्थ्यो । ओशो धर्मको नाममा हुने गरेको पाखण्ड, अन्धविश्वास र रुढीबादी परम्पराको भण्डाफोर गर्ने गुरु हुन् । ओशोले साधकहरुलाई  ध्यान गर्न सिकाउँदथे । उनको सारा जोड ध्यानमा थियो । ओशोले दिने प्रवचनपनि साधकहरुलाई ध्यानको लागि निमन्त्रणा थियो । ओशो बहुत आत्मविश्वासका साथ बोल्दथे । उनको प्रवचनमा एक मेलोडी हुन्थ्यो । उनको प्रवचन यस्तो हुन्थ्यो कि उनको प्रवचन सुनेपछि कोही पनि मान्छे तटस्थ बस्न सक्दैनथ्यो । कि उ ओशोको समर्थनमा हुन्थ्यो कि त उ विरुद्दमा हुन्थ्यो । ओशो कुनैपनि धार्मिक कट्टरताको बिरोधी हुनुहुन्थ्यो । ओशोको देशना भन्दा कथाबाचक धिरेन्द्र कृष्णजीको  शैली बिल्कुल फरक देखिन्छ । ओशो सँधै अध्यात्मिक साधनामा चमत्कार र सिद्धि प्रदर्शनको निषेधको वकालत गर्नुहुन्थ्यो । मैंले ति महान गुरुसँग कथाबाचक शास्त्रीजीको  तुलना गर्न त खोजेको होइन । न मसँग अहिलेका चर्चित गुरु श्री धिरेन्द्र कृष्ण शास्त्री जस्तो महान सनातन हिन्दु गुरुको विश्लेषण गर्ने क्षमता नै छ । मैंले त केवल उनी नेपाल आएको सन्दर्भमा भएको कथा बाचनको चर्चा मात्र गर्ने प्रयास गरेको हो । त्यसैले ओशोका साहित्यहरु म खुब पढदछु भन्नुहुने शास्त्रीजी पनि ओशोको  प्रशंसक भएको हुँदा केही कुराहरु प्रसङ्गबस उल्लेख भएका हुन् ।

शास्त्रीजीको दिब्य दरबारमा चमत्कार र सिद्धिको प्रयोग स्पष्ट देखिन्छ । कथाबाचक शास्त्रिजीमा सनातन हिन्दु धर्मप्रतिको कट्टरता भेटिन्छ । तर उनीमा देखिने आत्मविश्वास, संकल्प, उत्साह, उर्जावान व्यक्तित्व र हनुमानप्रतिको भक्ति अदभुत छ । ओशो परम्पराबादी, रुढिबादी र अन्धविश्वासको भण्डाफोर गरेको कारणले पनि आफ्नो जीवनकालमा अत्यन्त चर्चित र बिबादस्पद थिए । युवा शास्त्रीजी पनि अहिले त्यो भन्दा भिन्न हिन्दु धर्मप्रतिको कट्टरता र दिब्य दरबारको  कारणले चर्चित र बिबादस्पद छन् । हुनत अध्यात्म अत्यन्त रहस्यमय क्षेत्र हो । अध्यात्मको बिज्ञान बिराट छ । अध्यात्मिक गुरुहरुमा अदभुत चमत्कारिक शक्ति हुन्छ । कुनै कुनै गुरुहरुको जीवनमा सिद्धि र चमत्कार देखिन्छ । तर कुनै गुरुको जीवनमा चमत्कार देखिदैन । कुनै गुरुको जीवनमा अलिअलि देखिन्छ । कुनै गुरुको जीवनमा बाहिर चमत्कार देखिदैन तर नजिकका शिष्यहरुले चमत्कार अनुभव गरिरहेका हुन्छन् भनिन्छ । अध्यात्मिक साधनाको उचाइमा पुगेपछि साधकहरुमा सिद्धिहरु आउन थाल्दछ ।

भगवान गौतम बुद्धले आफ्नो जीवनकालमा साधकहरुमा सिद्धि र चमत्कारको प्रदर्शन गर्न रोक लगाएका थिए  । ओशो पनि अध्यात्मिक साधनामा सिद्धि र चमत्कारको बिरुद्धमा छन्  । ओशो र बुद्ध अध्यात्ममा बैज्ञानिक सोच भएका गुरुहरु हुन् । अर्कोतिर जिससको जीवनकालमा चमत्कार देख्न सकिन्छ । सत्य साईबाबा चमत्कार देखाउँदथे । आम मान्छेहरुलाई साधना र जीवन रुपान्तरण भन्दा चमत्कारमा रुची छ । अधिकांश मान्छेहरु ध्यान र आत्म रुपान्तरण चाहदैनन् उनीहरु जीवनमा धन चाहन्छन, चमत्कारिक ढंगले रोग निवारण चाहन्छन । त्यसैले धिरेन्द्र कृष्ण शास्त्रीजीको कथामा एक लाख मान्छेहरु आएका थिए । केही महिना अघिमात्र  ललितपुरको गोदावरीमा भएको अर्का हनुमानका भक्त मोरारी बापुको राम कथामा ५–६ हजार मान्छेहरुको मात्र उपस्थिति थियो । मोरारी बापु पनि बहुत रोचक ढंगले रामकथा भन्दछन । यसबाट पनि प्रष्ट बुझ्न सकिन्छ मान्छेहरुलाई ध्यान र कथामा भन्दा चमत्कारमा बढी रुची छ ।  मान्छेले आफ्नो जीवनमा चमत्कारिक ढंगले परिवर्तन आओस भन्ने चाहन्छ । आफूले मेहनत र साधना गरेर आफूमा रुपान्तरण ल्याउने मान्छे त संसारमा बहुत कम हुन्छन् ।

 तथापि बागेश्वर धाम सरकारको नामले चिनिनुभएका अहिलेका चर्चित हिन्दुधर्मका गुरु कथाबाचक श्री धिरेन्द्रकृष्ण शास्त्रीजीले अहिले विश्वमा एक प्रकारको धार्मिक जागरण ल्याएका छन् । उनले मान्छेहरुलाई सनातन हिन्दु धर्मप्रति आकर्षित गरेका छन् । विभिन्न तनाब, चिन्ता, ब्याकुलातामा रुमलिएको अनि कुलतमा फस्ने सम्भावना भएको मान्छेहरुलाई राम कथामा ल्याएर राम र हनुमानको भक्तिमा डुबाएका छन् । मान्छेहरुमा भएको चिन्ता र व्याकुलता हटाउन सहयोग गरि व्यक्तिमा उत्साहको संचार गराएका छन् । निराश मान्छेमा धर्मको माध्यमबाट आशाको किरण छरेका छन् । उनले धेरै सामाजिक कामहरु पनि गरिरहेका छन् । उनले बागेश्वर धाममा ५०० शैयाको निशुल्क क्यान्सर हस्पिटल बनाउदै छन् । बागेश्वर धाममा हरेक दिन निशुल्क भण्डारा लगाइरहेका छन् । भारत र नेपाल मात्र  होइन विश्वभरी राम कथावाचन गरेर मान्छेहरुलाई अध्यात्मिक बनाइ बिभिन्न पीडाबाट मुक्त बनाउन प्रयासरत छन् । कथावाचन गरि विभिन्न आश्रम र मन्दिरहरु बनाउन सहयोग गरिरहेका छन् ।त्यतिमात्र होइन उनले समाजमा अनगिन्ति सामाजिक कल्याणका कामहरु पनि निरन्तर गर्दै आइरहेका छन् । यस्ता धेरै प्रतिभाका धनी धार्मिक गुरु श्री धिरेन्द्रकृष्ण शास्त्रीजीप्रति हार्दिक नमन । (लेखक ओशोका शिष्य एवम ओशो तपोवनका सदस्य हुन्)

Logo