काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी अनुसन्धानका लागि थुनामा रहेका बेचन झाको पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले सङ्गठित अपराधमा अनुसन्धानका लागि पटक–पटक म्याद थप गरेर थुनामा राखिएका झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको हो।
न्यायाधीश ढुङ्गानाको एकल इजलासमा यो निवेदन दोस्रो नम्बरमा पेशी रहेको छ । झाका तर्फबाट उनका छोराले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।अनुसन्धानकै क्रममा झाको बयान सकिएको छ । उनका छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । प्रहरीले उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको बताएको छ।
यस प्रकरणमा पूर्वमन्त्रीहरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे लगायतलाई विपक्षी बनाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।































प्रतिक्रिया