काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन पुगेको छ । बसको खोजीमा दैनिक सयौँ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
लगातार १६ दिनदेखि सुरक्षाकर्मीहरू खोजी कार्य गर्दै आएका भए पनि पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेकाले उनीहरू आजित बनिसकेका छन् ।
यहाँका उद्धार टोलीलाई सहायता गर्न भन्दै नौ दिनदेखि खटिएको भारतीय उद्धार टोली पनि उपलब्धी नभएको भन्दै आज फर्किने निश्चित भएको छ । भारतीय टोली आज फर्किने तयारीमा छ ।
चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार आजसम्म सक्दो प्रयास गरिए पनि उपलब्धी नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिइसकेको भएकोले टोली फर्किन लागेको हो । बिहान भारतीय उद्धार टोलीसँग चितवनका प्रमुख जिल्ला अधिकारी, उद्धारमा संलग्न सुरक्षाकर्मीको टोलीसहित समीक्षा तथा धन्यवाद बैठक गरिनेछ । त्यसपछि १२ जनाको उद्धार टोलीलाई बिदाइ गरिनेछ ।
असार २८ गते भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा बगाएउँदा दुई बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने बाँकी यात्रु नदीमा नै बेपत्ता भएका थिए । बेपत्तामध्ये पनि १९ जनाको शव भेटेर पहिचान भएको छ । अन्य यात्रु भेटिएका छैनन् । केही भेटिएका शवको पहिचान खुलेको छैन । त्रिशूलीमा हराएको दुबै बस अहिलेसम्म भेटिएको छैन ।





























प्रतिक्रिया