पाँचथर । फिदिम नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको काज फिर्ता गराईदिन केन्द्र सरकारसँग अनुरोध गरेको छ । फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले प्रमुख प्रशाकीय अधिकृत घनश्याम उपाध्ययलाई काज फिर्ता गराईदिन भन्दै केन्द्र सरकारलाई पत्र पठाएका हुन् । भदौ २० गते काजमा खटिएका उपाध्ययले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको भन्दै नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काज फिर्ताको लागि पत्र लेखेको हो ।
उपाध्यायले फिदिम नगरपालिका, नगरकार्यपालिका (कार्यसम्पादन) नियमावली २०७४ को परिच्छेद ३ को नियम १९ को उपनियम २ को खण्ड क देखि ङ सम्म उल्लेखित प्रचलित कानून तथा यस नियमावलीको अधिनमा रही प्रमुखको निर्देशन र मातहतमा रहि कार्य गर्नुपर्ने तथा नेपाल सरकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम ८४ समेतले नगरपालिकाको सचिवको समेत प्रमुख प्रशाकीय अधिकृतको जिम्मेवारी वहन गर्न नसकेको आरोप लगाएको छ ।
त्यस्तै काजमा वा बिदामा बस्दा कानून बमोजिम गर्ने नगरेको तथा हालसम्म कार्य सम्पादन सन्तोषजनक भएको नपाईएको भन्दै नगरपालिकाले काज फिर्ता गराईदिन केन्द्र सरकार गुहारेको हो । प्रमुख प्रशासकीय अधिकृत उपाध्ययको कारण नगरपालिकाको विकास निर्माण र समृद्धिमा असर परेको मेयर नेम्वाङको दाबी छ ।
के भन्छन्, उपाध्ययः
प्रमुख प्रशासकीय अधिकृत उपाध्यय भने नगरपालिकाले लगाएको आरोप ठाडै अस्वीकार गर्छन् । ऐन कानून विपरित पनि नगरपालिकाले कार्य गराउन खोजेको तर आफुले गर्न नमान्दा यस्ता झुटा आरोप लगाईएको उनको दाबी छ ।
केन्द्रबिन्दुसँग टेलिफोन सम्पर्कमा उपाध्ययले भने, ‘हामी भनेका निजामती क्षेत्रबाट आएका कर्मचारी हौं । हामीले कुनै पनि काम ऐन कानून अनुसार मात्र गर्नुपर्छ । तर नगरपालिकाले आफुलाई सही लागेको जस्तो सुकै काम पनि गर्न लगाउँदैं आयो । म माथि धेरै दबाब दिईयो । मैले कानून विपरित गर्न नसक्ने अडान लिँदा यस्तो आरोप लगाईएको हो ।’
नगरपालिकामा आएदेखि धेरै गैरकानूनी काम गर्न दबाव दिईएको भन्दै उनले एउटा उदाहरणका रुपमा सडक निर्माण प्रकरणबारे जानकारी दिए । ‘प्रदेश सरकारबाट एउटा बाटो निर्माणको लागि १ करोड ३५ लाख रुपैयाँ आएको थियो । १ करोड भन्दा माथिका कुनै पनि योजना टेन्डर मार्फत मात्र गर्नुपर्ने हुन्छ । तर नगरपालिकाले उपभोक्ता समिति मार्फत गराउन खोज्यो । त्यसको लागि नगरकार्यपालिका बैठकले ५०/५० र ३५ लाख गरी तीन वटा उपभोक्ता समितिलाई सडक निर्माणको जिम्मेवारी दिने निर्णय गर्यो । जुन काम कानून विपरित हो । नगरकार्यपालिकाको बैठकको निर्णयलाई फाईनल गरेर उपभोत्ता समितिहरुलाई सिफारिस गर्नुहोस भन्दै मलाई मेयर सापले भन्नुभयो तर मैले यो काम कानून सम्वत भएन भन्दै अस्वीकार गरिदिए । त्यसपछि म माथि यस्तो आरोप लागेको हो । यो त एउटा उदाहरण मात्र हो । म आएदेखि नै नगरपालिकाले बेला बेला गैरकानूनी काम गर्न निकै दबाव दिदैं आएको थियो’ उनले भने ।
आफुले नियम कानून सम्वत तरिकाले नगरपालिकाकै हितमा काम गर्न खोज्दा पनि मेयर लगायतका सिमित स्वार्थ भएकाहरुले काम गर्न नदिएको उनको आरोप छ । यस विषयमा थप जानकारी लिन खोज्दा नगरपालिकाको मेयर ओनाहाङ नेम्वाङसँग सम्पर्क हुन सकेन । नगरपालिकाको वेबसाईटमा राखिएको फोन नम्बर ९८२४९९०२०४ मा सम्पर्क हुन सकेन् ।
































प्रतिक्रिया