सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ सातपत्रे खोलाको पूर्वी किनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती (कठघरा) छ । गुम्तीको अघिल्तिर पाँचसात जना मानिसहरूले घेरा हालेको हरहमेसा देखिन्छ । गुम्तीमा ४२ वर्षिय रैथाने शारीरिक रुपमा अशक्त (अपाङ्ग) इन्द्र साहको नास्ता पसल छ । उनको सस्तो र स्वादिलो नास्ता खान हिजोआज घुइँचो लाग्न थालेको छ ।
इन्द्र साह जन्मजात अपाङ्ग होइनन् । एक प्रलयंकारी दुर्घटनामा परेर उनको दाहिने खुट्टा घुँडामाथिबाटै काटेर मिल्काउनु पर्यो । उनी बैशाखीको साहारामा हिँडडुल गर्छन् । एकाबिहानै उनी घरबाट उठेर पाँच सय मिटरको दूरीमा रहेको पसलमा बैशाखी टेक्दै आउँछन् । दिनभरी पसल चलाउँछन् र रातपरेपछि घर फर्किन्छन् ।
२०७६ असार २७ गतेसम्म उनी हट्टाकट्टा तन्नेरी र सपाङ्ग थिए । आफ्नै एउटा पिकअप भ्यान किनेर आफै ड्राइभिङ्ग गर्थे । मालसामान ढुवानी गर्थे । २०७६ असार २७ गते उनी काठमाडौंमा सामान उतारेर घर सिरहातर्फ फर्किँदै थिए ।
बीपी राजमार्गको नेपालथोक नजिक पहिरोमा साहको पिकअप पुरियो । वडेमाको एउटा ढुंगाले उनको पिकअप भ्यानलाई कच्याककुच्युक हुनेगरी थिच्यो । पहिरो पन्छाएर साहलाई जीवितै उद्धार गरियो र काठमाडौँस्थित बीएण्डबी अस्पतालमा भर्ना गराइयो ।
४८ दिन आईसीयू र त्यसपछि चार महिनाको अस्पताल बसाइपछि उनी घर फर्किए तर उनको दाहिने खुट्टा घुँडादेखि माथिबाटै काट्नु पर्यो । साह भन्छन् ‘डुँडो खुट्टा लिएर घर फर्केँ । श्रीसम्पत्ति बेचेर ४८ लाख रुपैयाँ अस्पताललाई बुझाएँ । बिमाले जम्मा नौँ लाख दियो । पिकअप भ्यान पनि कवाडी भयो । जीवन त जोगियो तर १० जनाको परिवार र आफ्नै जिन्दगीको भार बैशाखीमा हिँडेर कसरी पाल्ने चिन्ताले सतायो ।’
‘लामो समयसम्म घरमा त्यसै बसिरहन उनको मनले मानेन । २०७८ सालमा राजमार्ग छेउमा एउटा गुम्ती (कठघरा) राखेँ । उनले चिया र नास्ताको पसल थापे । सुरुमा थोरै बिक्री हुन्थ्यो । पछि पछि प्रचार हुँदै गयो । अहिले दिन बदलियो । साह भन्छन् अब म नास्ता दिनै भ्याउँदिन । ग्राहकको चाप ह्वात्तै बढेको छ,’ उनले सुनाए ।
साहको पसलमा अहिले चिउरा, मुरही (भुजा) चना घुघनी (विरौला), कचरी, आलुचप, हरियो खुर्सानी, प्याज एक टुक्रा र वीरेनुनको नास्ता सेट छ । त्यसमाथि शुद्ध दुधको स्पेसल चिया छ । गुम्तीभित्रै बसेर उनी कागजमा नास्ता दिन्छन् । ग्राहकले आफैँ उठेर नास्ताको पोका लैजान्छन् । गुम्तीको छेउमा तीनवटा बेञ्च छ । त्यसमा बसेर ग्राहकहरू हात–हातमा नास्ताको पोका लिएर खान्छन् । बस्ने ठाउँ नपाउनेले उभिएरै खान्छन् । आलुचल र कचरी प्याकिङ्ग गरेर घर घरमा लैजान्छन् । दिनभरीमा २ सय देखि दुईसय २५ जना ग्राहकले उनको पसलको नास्ता खान्छन् । एउटा खाजाको पोकाको ६० रुपैयाँ पर्छ । दिनभरीमा १०–१२ हजारको बिक्री हुन्छ ।
साहको पसलमा ग्राहक ओइरिनुको कारण छ । उनले आज पकाएको कचरी र आलुचपको तेल भोलिपल्ट प्रयोग गर्दैनन् । बासी कचरी आलुचप र चना दिँदैनन् । डढेको तेलमाथि अर्को तेल थपेर पकाउँदैनन् । शुद्ध खानेतेल मात्र प्रयोग गर्छन् । नास्ता पेट भरिने गरी दिन्छन्, त्यो पनि मात्र ६० रुपैयाँमा । अन्य पसलको तुलनामा सस्तो छ । साहले पकाएको चनाको घुघनी औधी स्वादिष्ट छ । छेउछाउका ग्राहक र राजमार्गमा चल्ने साना यात्रुबाहक गाडीहरूले पनि रोकेर पनि खाजा खान थालेका छन् ।
साह भन्छन्, ‘पहिले पहिले अपाङ्गको पसल भनेर दयामाया देखाउँदै ग्राहक आउँथे तर अहिले उनको नास्ताको स्वाद सम्झेर ग्राहक आउँछन् ।’ साहले आफैँले पसल र वरपर सरसफाइ गर्छन् । प्याज काट्नु, आलु उसिन्नु , चना घुघनी पकाउने, बाल्टिनमा पानी ल्याउने, कचरी र आलुचप तार्ने र नास्ता पस्केर दिने यावत कार्य आफैँ गर्छन् । बजारबाट सामान पनि आफैँ किनेर ल्याउँछन् । कसैको सहयोग चाहिँदैन । झमक्क साँझ परेपछि उनी पसल बन्द गरेर उनी घर जान्छन् । साह भन्छन्,‘कसैले मलाई अपाङ्ग हो भनेर नठानुन् । म सबै काम आफै गर्छु ।’
साहका चार जना भाइबहिनी छन् । बा, आमा, पत्नी, एक छोरा र एक छोरी गरी १० जनाको परिवार छ । छोराछोरीलाई बोर्डिङ्ग स्कूलमा पढाउने र सम्पूर्ण परिवारको भरणपोषण तथा रेखदेखको जिम्मेवारी शारीरिक रूपमा अशक्त इन्द्रकै काँधमा छ । सपाङ्ग हुँदा उनी अत्यन्त उmर्जावान् युवा थिए नै, अपाङ्ग हुँदा पनि उनको जोश र जाँगरमा बिञ्चित कमि आएको छैन । इलमी इन्द्र गोलबजार नगरपालिकाभित्र युवाहरूको आदर्श र अन्य अपाङ्गहरूका लागि पनि प्रेरणाका स्रोत बनेका छन् ।





























प्रतिक्रिया