काठमाडौँ । खोटाङ घर भएका गणेश राई अहिले चर्चामा छन् । दुवै हातको कुहिनोभन्दा तलको भाग नभएका राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खोजेर जागिर दिएको विषय बाहिरिएसँगै राईको चर्चा चुलिएको हो ।
दुवै हातको कुहिनामाथिको भागले कम्प्युटर टाइप गर्ने, प्रिन्ट गर्ने, इमेल र इन्टरनेट राम्रोसँग चलाउन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा गणेश राईका बारेमा एउटा ‘स्टेटस’ नै लेखेका छन् । राई फेरि पनि ओलीको नजरमा पर्नुको कारण यसअघि पनि उनले प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा करारमा काम गरिसकेका थिए । तर चौथोपटक प्रधानमन्त्री भएर आउँदा राईलाई कार्यरत नदेखेपछि ओलीले खोजी गरेर आफ्नो सचिवालयमा कम्प्युटर अपरेटरका रूपमा करारमा नियुक्त गरेका छन् ।
२०७२ मा ओली प्रधानमन्त्री भएपछि सहरी विकासको डिभिजन कार्यालय काठमाडौँमा कम्प्युटर अपरेटरका रूपमा उनको जागिर सुरु भएको थियो । ओली प्रधानमन्त्रीबाट हटेसँगै उनको त्यो जागिर पनि सकियो ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि फागुन ३ मा ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए । त्यो समय फेरि ओलीले राईलाई खोजेर प्रधानमन्त्री कार्यालयको सचिवालयमा ल्याएपछि सुरुमा राईले प्रशासन र त्यसपछि सल्लाहकारसँग काम गरे । ओली सरकारबाट हटे पनि उनी प्रधानमन्त्री कार्यालयमै रहे ।
यसपटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि ओलीले उनलाई खोजे । अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ । अब गणेश प्रधानमन्त्रीसँगै काम गर्ने भएका छन् ।
खोटाङ, जन्तेढुङ्गा गाउँपालिका (पहिले काउले गाविस) का गणेश राईले ओलीसँग पहिलो पटक २०७२ मा बालकोटमा भेट गरेका थिए । सो समय उनी स्वर्गीय मिलन राईमार्फत अध्ययन अगाडि बढाउने भनेर काठमाडौँ आएका थिए । करारका कर्मचारी रहेका उनी असार मसान्तमा अवधि सकिएपछि बाहिरिएका थिए । तर बाहिरिएको ७ दिनमै ओलीका कारण उनी फेरि सचिवालयमा भित्रिएका छन् । राई अहिले उमेरले ३१ पुगेका छन् ।





























प्रतिक्रिया