ननसेन्स मिडिया ! सस्तो लोकप्रियताका लागि अती सस्ता सामग्री

ननसेन्स मिडिया ! सस्तो लोकप्रियताका लागि अती सस्ता सामग्री

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी

काठमाडौं । बुधबार गायिका अञ्जु पन्त एकाएक चर्चामा आईन् । अञ्जुलाई गाली गर्नेको जमात नै यति ठूलो भयो कि पुरै सामाजिक सञ्जालदेखि मिडियासम्म उनको पछि लागे । सञ्चारकर्मी सुवास चौलागाईले आफ्नो फेसबुक वालमा अञ्जु पन्तलाई जोडेर एउटा स्टाटस लेखे ।

उनले अञ्जु पन्तको एउटा फोटो सेयर गर्दै बारा पर्सा हावाहुरी पीडितलाई बाड्न लागिएको राहतलाई धर्मको प्रचार गरिएको भन्न भ्याए । त्यसैगरी अर्का सञ्चारकर्मी विश्वमणी सुवेदीले समेत चौलागाईंकै भाषामा अञ्जु पन्तमाथि ब्यङग्य गरेर पोष्ट गरे । उनीजस्तै धेरैले अञ्जु पन्तको उक्त तस्बिरलाई भाईरल नै बनाए ।

धेरैले सामाजिक सञ्जालमा अञ्जु पन्तको तस्बिर सेयर गर्दै धर्मको प्रचार गर्न हिडेको आरोप लगाए । गाडीको डिकीमा केही राहत सामाग्री र किताबहरु राखेर उभिएकी अञ्जुको तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भएको छ । पीडामा पनि धर्म प्रचार गरेको भन्दै धेरैले उनलाई गाली गरिरहेका छन् ।

त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पनि परेका छन् । उनले यसको यथार्थ पत्ता लगाउन गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग माग नै गरे ।

यस्तो छ यसको यर्थाथः
क्रिश्चियन धर्मको अनुयायी रहेकी गायिका पन्तलाई बारा पर्सामा राहत बाड्ने नाममा धर्मको प्रचार गर्न गएको भन्ने आरोप लाग्यो । तर, यसको सत्यता भने अर्कै देखिएको छ । जुन सामाजिक सञ्जालमा भाईरल भएको फोटो ५ डिसेम्बर २०१८ उनको फेसबुक पेजमा पोष्ट भएको पाईएको छ ।

उनी सहयोग लिएर बारा पर्सा लगायतका तराईका जिल्ला गएकी थिइन् । त्यहीबेला खिचेको तस्वीर अहिले भाइरल बनाइएको हो । त्यो बेला बालबालिकालाई ब्याग र कापी किताव वितरण गरेको तस्बिरलाई अहिले गलत प्रयासमा प्रयोग गरिएको देखिन्छ ।

अब कुरा गरौं डा. गोविन्द केसीकोः
हावाहुरीबाट प्रभावित क्षेत्र बारा पर्सा पुगेका सत्याग्रही आन्दोलनकर्ता डा. गोविन्द केसी पनि हिजो आज सामाजिक सञ्जालमा चर्चामा छन् । डा. केसी यतिबेला बारा–पर्साका प्रभावित क्षेत्रमा राहत, औषधी उपचार गर्नमा सक्रिय छन् । औषधि उपचारसँगै पीडित परिवारलाई राहत सामग्री समेत वितरण गरे । गोविन्द केसी लत्ता कपडा र औषधिसहित काठमाडौंबाट बारा पुगेका हुन् । उनले बढी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा स्वास्थ्य शिविर र लत्ता कपडा बाँडेका हुन् ।

लत्ता कपडा तथा फलफुल वितरण गर्दाको तस्बिर यतिबेला भाईरल बनेको छ । सामाजिक सञ्जालमा धेरैले यसलाई नराम्रोसँग टिकाटिप्पणी गरेका छन् । भाईरल बनेको तस्बिरलाई हेर्दा, डा. केसीले कुनै पीडित महिलाई फलफुलसँगै तन्ना प्रदान गरेका छन् ।

तर त्यसलाई हलुका रुपमा लिएर नराम्रो टिप्पणी गरिरहेका हुन् । प्रकाश तिमिल्सिनाले ट्वीटरमा लेखेका छन्, ‘समाजसेवाको महान चित्रः चिकित्सकबाट अनसनकारी, अनसनकारीबाट मानवअधिकारकर्मी अहिले फेरि हुदाँहुदै समाजसेवी । समाजसेवामा चाहिँ, दुई पिस केरा, एउटा स्याउ… । लगे रहो !!’

त्यस्तै प्रदिप भट्टराई लेख्छन्, विपद्मा हातेमालो गर्नेहरु डाक्टर काममा खटेका छन्, उनीहरुलाई न प्रचारको चाह न मिडियावाजीको फूर्सद् । जसको सामाजिक चिनारी नै यस्तै स्टन्टबाट भएको छ, हरे केरा !!

नेकपा अध्यक्ष प्रचण्ड पनि ट्रोलको शिकारः
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि त्यसको शिकार बनेका छन् । अध्यक्ष प्रचण्डले मंगलबार बारा र पर्सा पुगेर प्रभावित क्षेत्रको निरिक्षण गरेका थिए । निरिक्षणपछि उनले राहत सामाग्री समेत वितरण गरे । तर त्यो वितरण गरिएको राहत सामग्रीलाई गलत तरिकाले ब्याख्या गरिएको छ । प्रचण्डले एउटा पीडित परिवारलाई चामलसहितको राहत सामग्री प्रदान गरिरहेको तस्बिर यतिबेला भाईरल भएको हो ।

अब कुरा गरौं नेपाली मिडियाको:
नेपालमा दिनप्रतिदिन अनलाईन मिडिया खुलिरहेका छन् । ती मध्ये कतिपय कानूनी प्रक्रिया अनुसार चलेका छैनन्, भने अर्कोतिर मनपरी समाचार सम्प्रेषण गर्दा आज पाठकमा नकारात्मक सूचना प्रवाह भईरहेको छ । विभिन्न नाममा खुलेका अनलाईन मिडियाहरुले बारा र पर्सामा आएको विनाशकारी हावाहुरीलाई पनि आफ्नो लोकप्रियतासँग जोडेका देखिन्छ ।

देशकै मुलधार तथा स्थापित मिडियाहरुले समेत सस्तो लोकप्रियताको लागि समाचार सम्प्रेषण गरेको देखिन्छ । मुलधारको मिडिया राजधानी दैनिकले एउटा भारतमा खिचिएको तस्बिरलाई बारा पर्सा हावाहुरी प्रकरणसँग जोडेको देखिन्छ ।

राजधानीडेली डटकमले प्रशारित गरेको समाचारमा चार जना नेताहरुले एउटा विरामीलाई २ वटा केरा दिएको तस्बिर समेत देखाईएको छ । उक्त तस्बिर २०१८ मा खिचिएको हो । एउटा विरामीलाई भारतका ४ जना स्थानीय नेताहरु मिलेर राहतको नाममा २ वटा केरा दिएका थिए । जुन तस्बिर यतिबेला बारा पर्सा हावाहुरी प्रकरणमा जोडिएको छ ।

माथि उल्लेखित दृष्टान्त प्रतिनिधि घटना मात्र हुन् । तर संख्यात्मक रुपमा भन्ने हो भने ठूलो संख्यामा सञ्चालित अनलाइन मिडिया हावादारी समाचार वनाउन तल्लिन देखिन्छन् । ब्यवसायिक धर्म पालना गरेर सञ्चालित मिडिया हाउसहरुलाई यस्ता दृष्टान्तले एउटै ड्याङमा पु¥याउने खतरा रहन्छ ।

सवै अनलाइन मिडिया उस्तै हुन् भन्ने कुरा स्थापित भयो भने त्यसले सूचनाको हक मात्र खोस्दैन, सञ्चार क्षेत्रको समग्र विकास समेत अवरुद्ध हुनसक्छ । त्यसकारण यो समस्या सरकार र सरकारी निकायको मात्र होइन । आम ब्यवसायिक धर्म निर्वाह गर्ने सञ्चार गृहहरुको पनि हो ।

Logo