नेवाद्वारा खानेपानी पहुँच विस्तार

नेवाद्वारा खानेपानी पहुँच विस्तार

केन्द्रबिन्दु
98
Shares

म्याग्दी । म्याग्दीको मालिका, मंगला र धवलागिरी गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), स्थानीय तह र समुदायको लागत साझेदारीमा निर्माण भएका आयोजनाहरूबाट सात हजार सात सय ६२ जनसंख्या लाभान्वित भएका छन् । कूल पाँच करोड ९१ लाख ४५ हजार आठ सय २९ को लागतमा खानेपानी आयोजनाहरू निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

नेवाका प्रदेश प्रमुख रमेश दाहालका अनुसार आयोजनाको कार्यक्षेत्रका सबै घरधुरीमा निजी धाराका साथै विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवनमा पनि थप १९ धारा जडान गरिएको छ ।

मालिका गाउँपालिका–२ को ठूलोरुममा दुई सय ७०, कलात भनारीमा ७३ र बिलवाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको मालिका–२ का वडाध्यक्ष उदय बुढाथोकीले जानकारी दिए । मालिकाकाको बिम डाँडागाउँ, दास, सिरेदी खोप्टी र जनप्रिय माध्यमिक विद्यालयमा निर्माण भएको खानेपानी आयोजनाबाट २३६ धारा जडान भएको छ । धवलागिरी गाउँपालिका–२ को लमसुङ र वडा नं ४ खाम्लामा १०८ घरधुरीमा खानेपानी जडान भएको छ ।

मंगला – १ खानीगाउँमा ३७, वडा नं २ खुम्लीया, ¥यालेखोर, भाइवाङका १०० र हिदीका ६४ घरमा निजी धारा जडान भएको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताए । नेवाले दुई करोड ८९ लाख ७० हजार नौ सय ५१ र स्थानीय तहहरूले एक करोड २५ लाख ९३ हजार २३ लगानी गरेका छन् । एक करोड ४८ लाख ६६ हजार चार सय ४० बराबरको श्रमदान गरेका उपभोक्ताहरूले २७ लाख १५ हजार चार सय १५ नगद लगानी गरेका नेवाले जनाएको छ । हिदी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले घरघरका धारामा पानी आउन थालेपछि सार्वजनिक धारा, कुवा, पधेरामा धाउदा हुने समयको बचतको साथै सहज भएको बताए ।

व्यवस्थित रूपमा वितरण भएपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ । पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकताअनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् ।

Logo