जुम्ला । जुम्लाका आठ वटा स्थानीय तहका करिब छ हजार छ सय ६५ घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । यहाँको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका छ हजार छ सय ६५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत्करण पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख रामआशिष शाहले जानकारी दिए ।
जिल्लाको तिला गाउँपालिका–८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार हुने सकेकोे छैन । बाँकी सबै वडाका घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । त्यस्तै सिञ्जा गाउँपालिका–३ मा रहेको नराकोट बजारमा विद्युत्को लाइन पुगेको छ भने बाँकी वडामा पुग्न सकेको छैन । हिमा गाउँपालिका–२ र ६ बाहेक अरू सबै वडाका घरधुरीमा विद्युत् लाइन पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख शाहले बताए ।
यहाँको कनकासुन्दरी गाउँपालिकाको–३, ५, ६ र ८ वडामा विद्युत्को लाइन पुगिसकेको छ । तातोपानी गाउँपालिका–४ बाहेक बाँकी अरु सबै वडामा तातोपानीमा राष्ट्रिय प्रसारण लाइनको पुगेको छ । गुठीचौर गाउँपालिकाभित्र छ वटै वडामा विद्युत्करणको काम तीव्र गतिमा भइरहेको छ ।
जिल्लामा कूल जनसङ्ख्याको अहिलेसम्म ५४ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रसम्म विद्युत्करण गर्न प्राधिकरण लागिपरेको छ । यो वर्ष केन्द्रीय कार्यालयबाट नयाँ विद्युत् विस्तारका कार्यक्रम आएपछि काम अगाडि बढ्ने जुम्ला वितरण केन्द्रले जनाएको छ । पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको नौ सय ९८ किलोवाट विद्युत् लाइनमार्फत जिल्लाभर अहिले विद्युत् सेवा सञ्चालन भएको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।































प्रतिक्रिया