काठमाडौं । ‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गर्दै आएको पानी खान योग्य नभपछि महानगरले २ लाख जरिवाना गर्ने निर्णय गरेको हो ।
निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो । यसरी लिइएको नमूना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।
नमूना परीक्षणबाट मंगलबार रिपोर्ट आएको बताइएको छ । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरले जानकारी दिएको छ । प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको महानगरको भनाइ छ । यो शून्य हुनुपर्छ ।
खाद्य प्राविधिक अनिल बस्नेतले नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनु पर्ने बताए । ‘पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो, कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो,’ उनले भने ।
यसमा भिब्रो कोलेरा भने शून्य देखाएको पनि बस्नेतले बताए । डा. झाका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमुनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ । जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।
जथाभावी निर्माण सामग्री थुपार्नेलाई जरिवाना
मंगलबार महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको हो । यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सडकपेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको महानगरले जानकारी दिएको छ ।





























प्रतिक्रिया