अब सार्वजनिक यातायातमा सीसीटीभी राख्नुपर्ने

अब सार्वजनिक यातायातमा सीसीटीभी राख्नुपर्ने

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ । गृह मन्त्रालयले यातायात व्यवसायीलाई सार्वजनिक सवारी साधनमा सीसीटीभी जडान गर्न निर्देशन दिएको छ । चितवनको सिमलताल पहिरोमा परी दुई वटा बस बगाएको घटनाबारे अध्ययन गर्न गठित कार्यदलले साउन २२ गते गृहमन्त्री रमेश लेखकलाई सुझाव प्रतिवेदन बुझाएको थियो । कार्यदलको सोही सुझाव कार्यान्वयनका लागि गृह मन्त्रालयले यातायात व्यवसायीलाई यस्तो निर्देशन दिएको हो ।

गृह मन्त्रालयले यातायात व्यवसायीहरूलाई पत्राचार गर्दै विभिन्न १२ वटा बुँदा कार्यान्वयन गर्न भनेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पठाइएको १२ वटा बुँदा समेटिएको पत्रमा सुरक्षित यात्राका लागि प्राविधिक पक्ष समेटिएको छ । जसमा तीव्र गति नियन्त्रण गर्न गाडीमा गति नियन्त्रण गर्ने उपकरण जडान गर्ने कुरा उल्लेख छ ।

त्यसैगरी गाडीभित्र जीपीएस ट्र्याकिङ प्रणाली, तीव्र गति नियन्त्रण र सीमित गर्ने उपकरण जडान गर्न निर्देशन दिइएको छ । निर्देशनमा अनलाइन टिकट प्रणालीको विकास गर्ने, यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने र यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गराउने कुराहरू छन् । यस्तै, चालक तथा सहचालकसँग रोजगार सम्झौता अनिवार्य रूपमा गर्न र न्यूनतम तलबको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न पनि सरकारले व्यवसायीलाई निर्देशन दिएको छ ।

सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरलाई प्रशिक्षित गर्नेदेखि चालकलाई सुरक्षित ड्राइभिङसम्बन्धी तालिम दिन पनि निर्देशन दिइएको छ । मादक पदार्थ सेवन गरेर सवारी नचलाउने र लामो दूरीका सवारीमा कम्तीमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्न निर्देशन दिइएको छ ।

यस्तै, टिकट काउन्टरका कर्मचारीलाई अनिवार्य परिचयपत्र र तोकिएको पोसाक लगाउन तथा चालक तथा सहचालकलाई पोसाक तथा परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरू उक्त निर्देशनमा छन् । मन्त्रालयले दिएको निर्देशनमा सवारी साधनको तेस्रो पक्ष बिमा अनिवार्य, सवारी साधनको नियमित मर्मतसम्भार, चेकजाँच र पुराना तथा असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउने कुरा पनि छन् ।

Logo