भक्तपुरको गठ्ठाघरमा बिहीबार भएको दुर्घटनाको मृतकलाई आफ्नी बहिनी भन्दै गलत सूचना दिने व्यक्तिलाई प्रहरीले मुद्दा चलाउने भएको छ ।
दोलखाको मेलुङ गाउँपालिका- ४ का अन्दाजी ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेसँगै झुटो कुरा गरेकाले उनीमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी गरेको हो । आफू सहायक चालकको रुपमा काम गर्ने बताउने ती व्यक्तिले यसअघि पनि पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको प्रहरीको भनाई छ ।
भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भयंकर दुर्घटना भयो । बिहीबार दिउँसो १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो ।
सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीब्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै एक सय मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो । दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनियो । र दुर्घटना पश्चात ट्रकको ठक्करबाट ज्यान गुमाउने महिला रहेको समाचारहरु बाहिरिन थाले । त्यो सूचना थिए, शम्भु नै । दुर्घटनापछि उनले प्रहरी कार्यालयमा पुगेर आफ्नी २३ वर्षीया बहिनी सुष्मा नेपाली भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो । आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती सम्पर्कमा आएकी थिइन् र प्रहरीले सच्याएर सार्वजनिक गर्यो ।
अन्ततः दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको छ ।
प्रतिक्रिया