काठमाडौं । सहकारी पीडित काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायी वासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितले श्रावण २६ गते शनिबार बिहान वीर अस्पतालमा अन्तिम श्वास फेरे । केही समयदेखि उनी शारीरिक रुपमा अस्वस्थ थिए । एक्कासी मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्याइएका स्थापितको अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ भएर निधन भएको भन्दै अन्य सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरे । यो विषयलाई निकै चर्चामा ल्याइयो ।
तर, स्थापितको बचत रकम रहेको न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीले भने यस विषयको खण्डन गरेको छ । उपचारका लागि ५ लाख रुपैयाँ धरौटी जम्मा गर्ने अवस्था नभएपछि उनको मृत्यु भएको भन्ने खबरलाई निराधार रहेको दाबी गरेको छ ।
‘उपचारका क्रममा अस्पतालले स्थापितको परिवारसँग कुनै रकम धरौटी राख्न आग्रह नगरेको र परिवारले पनि संस्थामा सो रकम उपलब्ध गराउन आग्रह नगरेको प्रष्ट पार्न चाहन्छौँ ।’
उपचारका क्रममा अस्पतालले स्थापितको परिवारसँग कुनै रकम धरौटी राख्न आग्रह नगरेको र परिवारले पनि संस्थामा सो रकम उपलब्ध गराउन आग्रह नगरेको सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष किसन राईले विज्ञप्ति जारी गर्दै बिरामीको परिवारले पनि उपचारका लागि यति रकम चाहियो भनेर माग नगरेको बताएका छन् । बरु अस्पतालमा उपचार गराउँदा लागेको सबै रकम आफैंले तिरेको अध्यक्ष राईको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उपचारका क्रममा अस्पतालले स्थापितको परिवारसँग कुनै रकम धरौटी राख्न आग्रह नगरेको र परिवारले पनि संस्थामा सो रकम उपलब्ध गराउन आग्रह नगरेको प्रष्ट पार्न चाहन्छौँ ।’ वीर जस्तो सरकारी र सरल अस्पतालमा उपचारका लागि एकै पटक लाखौँ रुपैयाँ धरौटी नमाग्ने दाबी गर्दै स्थापितको ४ दिनको उपचार खर्च १ लाख रुपैयाँ पनि ननाघेको सहकारीको दाबी छ ।
स्थापित बिरामी भएपछि उपचारका लागि अस्पताल लैजान आफैँले सुझाव दिएको भन्दै अध्यक्ष राईले भर्ना भएको दोस्रो दिन नै चिकित्सकले बिमारीलाई घर लैजान भने पनि आफैँले अनुरोध गरेर आईसीयूमा भर्ना गरेर उपचार गराइएको दाबी गरेका छन् ।
गलत सूचना फैलाउनेविरुद्ध कानुनी उपचारको बाटो खोज्न बाध्य हुनेसमेत अध्यक्ष राईको चेतावनी छ ।
सहकारीले स्थापितको नाममा अस्पतालमा भुक्तानी गरेका बिल तथा भौचरहरू समेत उपलब्ध गराएका छन् । स्थापित अस्पताल भर्ना भएदेखि नै सहकारीका अध्यक्ष र स्वयंसहित कर्मचारीहरू अस्पतालमै बसेर आवश्यक उपचारको प्रबन्ध मिलाएको संस्थाको दाबी छ । स्थापितलाई भर्ना गरेदेखि नै संस्थाको कोही न कोही व्यक्ति अस्पतालमा रहेको भन्दै त्यसको प्रमाणका लागि अस्पतालको सीसीटीभी फुटेज हेर्न सकिनेसमेत अध्यक्ष राईले बताए । बिमारी भर्ना भएको २ दिनसम्म संस्थाका अध्यक्ष आफैँ उपचारमा खटेको र बाँकी दिनमा संस्थाकै तर्फबाट एक जना कुरुवा राखेर अध्यक्ष राई बिहान र बेलुका अस्पताल पुगेर उपचारको अपडेट लिएको दाबी पनि संस्थाको छ ।
सुरुको दिन विभिन्न जाँच र औषधि खर्च सहकारीका अध्यक्ष राईले नै भुक्तानी गरेको र अन्य आवश्यक परेको रकमसमेत स्थापितकी श्रीमती दातृबाबा बज्राचार्यको नेपाल बैंकमा रहेको खातामा पटक–पटक रकमान्तर गरेको कागजात, भौचर तथा बिलहरू सुरक्षित रहेको संस्थाले जनाएको छ । पछिल्लो समय सहकारी संस्थाहरूमा देखिएको संकट युवा विकास सहकारीमा पनि परेको तर आफूहरू नभागी बचतकर्ता तथा सदस्यहरूसँग निरन्तर सम्पर्क र संवाद गरी समस्यामा परेका सदस्यहरूलाई आंशिक रूपमा सकेको बचत रकम फिर्ता गर्दै आएको संस्थाको भनाई छ ।
मृतक स्थापितको काजकिरिया खर्च व्यहोर्नुका साथै निजको बचत रकम पहिलो प्राथमिकतामा राखी फिर्ता गर्ने प्रतिबद्धता पनि संस्थाले जनाएको छ ।
यस्तो अवस्थामा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएको निराधार र भ्रामक समाचारले संस्थाका सदस्यहरूमा थप भ्रम सिर्जना गरी सहकारीलाई नै अप्ठ्यारोमा पार्न सक्नेप्रति चिन्ता बढेको अध्यक्ष राईले बताए । यस्तै, गलत सूचना फैलाउनेविरुद्ध कानुनी उपचारको बाटो खोज्न बाध्य हुनेसमेत उनको चेतावनी छ ।
यदि संस्थाले धरौटी राख्न पैसा नदिएकै कारण अस्पतालले उपचार नगरी बिरामीको मृत्यु भएको पुष्टि भए कानुनी कारबाही भोग्नसमेत तयार रहेको सहकारी संस्थाले जनाएको छ । मृतक स्थापितको काजकिरिया खर्च व्यहोर्नुका साथै निजको बचत रकम पहिलो प्राथमिकतामा राखी फिर्ता गर्ने प्रतिबद्धता पनि संस्थाले जनाएको छ ।
प्रतिक्रिया