काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँमा माओवादी कार्यकर्ताको घरमा बिहीबार बम विस्फोट भएको छ । माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा विस्फोट हुँदा अढाई वर्षीया बालिकाको मृत्यु भएको हो ।
आईबीको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए । घाइते दुई बालकमध्ये एकको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।
दिप्सन र प्रिन्सालाई झापाको बीएन्डसी मेडिकल कलेज ‘रेफर’ गरिएको थियो । थप उपचारका लागि लैजाँदै गर्दा बालिका प्रिन्साको मृत्यु भएको थियो । दिप्सनलाई राति साढे १२ बजे बीएन्डसी अस्पताल पुर्याइएको छ ।
विस्फोट अपराह्न ३ बजे भएको थियो । केरुङको त्यस घरमा स्थानीय ज्ञानबहादुरको परिवार बस्दै आएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार विस्फोट भएको वस्तु घरेलु ‘ग्रिनेड’ रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विस्फोट भएको घरनजिकै अर्को एउटा शंकास्पद वस्तुसमेत भेटिएको छ । साँझको समय भएकाले उक्त वस्तु डिस्पोज गराइएको छैन, बिहान नेपाली सेनाको टोली पुगेपछि यकिन हुने बताइएको छ ।































प्रतिक्रिया