जनकपुर । जनकपुर उपमहानगर महानगरपालिकाका मेयरलाई महामुर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई प्रदान गरिएको हो ।
उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा तबलाको टोपीबाट सम्मान गरिएको थियो । परिषद्ले हास्य मनोरञ्जनका साथै समाजका विभिन्न कुरितिहरुमाथि व्यङ्ग मार्फत कटाक्ष गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलनमा महामुर्खको उपाधी पाउनेहरुमा साधारण व्यक्तित्वदेखि मन्त्रीसम्म हुन्छन् ।
हास्य मनोरञ्जनका साथै भएको सो सम्मेलनमा प्रदेशसभाका सदस्यहरु रामचन्द्र मण्डल, परमेश्वर साह, शहीदनगर नगरपालिकाका प्रमुख उदय यादव बरबरिया, राजपा नेतृ पुनम झा मैथिली, कांग्रेस नेतृ सम्झना वर्मा, राजपाका प्रवक्ता कृष्णा सिंह लगायतलाई विभिन्न हास्यास्पद उपाधि प्रदान गरिएको थियो ।
सो सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तु माथि कटाक्ष गरेका थिए।
महामुर्खको उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार यस अघि कवि नरेश ठाकुर, नेकपा नेता शत्रुधन महतो, राजपा नेता डा. विजयकुमार सिहं, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, राजनीतिज्ञ रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल लगायतका विशिष्ट व्यक्तित्वलाई महामुर्खको उपाधि प्रदान गरिएको थियो ।































प्रतिक्रिया