अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसः ‘गिद्धका सङ्ख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसः ‘गिद्धका सङ्ख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

केन्द्रबिन्दु
12
Shares

कञ्चनपुर। गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ। सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना गरेको हो। बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताए।

गिद्ध बस्ने अग्ला सिमल, सखुवालगायत रुख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको बताए। “दशकअघि गिद्ध सहजै देखिने गरेका थिए”, उनले भने, “हाल गिद्ध देख्नै दुलर्भ भएको छ।” बासस्थानको सुरक्षासँगै जनावरमा प्रयोग हुने घातक विषादीको प्रयोगमा कमी ल्याउनुपर्ने उनको भनाइ थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले गिद्धको सङ्ख्यामा कमी आउँदा हैजा, टाइफाइड, आउ, झाडापखालालगायत रोगको देखिएकाे बताए। पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगाइए पनि अन्य गिद्धका लागि घातक मानिएका औषधिको प्रयोग नरोकिँदा चुनौती थपिँदै गएको उनले बताए।

चराविज्ञ हिरुलाल डगौराले अव्यवस्थित विद्युतीय तारमा परेर गिद्धको मृत्यु हुने गरेको पाइएकाले नगरपालिकाले अव्यवस्थित विद्युतका तार व्यवस्थित गर्न अग्रसर हुनुपर्ने र अन्तरदेशीय कानुनी अड्चनका कारण समयमै घाइते गिद्धको उद्धार हुन नसक्दा मृत्यु हुने गरेको उल्लेख गरे। आधुनिक कृषि प्रणालीको विकास र मृत पशुचौपाया गाड्ने चलनले गिद्धलाई खानाको अभाव हुँदै आएको उहाँको भनाइ छ।

नब्बेको दशकमा ९५ प्रतिशतसम्म घटेका गिद्धको सङ्ङख्या जनचेतनाको प्रभावका कारण बढ्दै गएको छ । उनले भने, “हराउँदै गएका गिद्ध पुनः देखिन थालेका छन्, गिद्ध जोगाउन युवाले अग्रसर भएर समुदायमा सचेतना छर्नुपर्ने भएको छ।”

चराविज्ञ हिरुलाल डगौराका अनुसार नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन्। जसमा डङ्गर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राजगिद्ध छन्। बेलौरी नगर युवा सञ्जालका अध्यक्ष विष्णुदत्त अवस्थीले गिद्धबारे आयोजना गरिएको कार्यक्रमबाट गिद्धको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी पाएर सचेत भएको बताए।

“गिद्धले वातावरण सन्तुलन गर्ने कार्यमा अहम् भूमिका खेल्ने गरेको जानकारी पायौँ”, उनले भने, “संरक्षणका लागि अग्रसर भएर लाग्ने प्रतिबद्धता गर्दछौँ।” प्रत्येक वर्षको सेप्टेम्बर पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ। आफ्नै योजना तथा अनुकूलताअनुसार यो दिवस नेपालमा सप्ताहव्यायी रूपमा सेप्टेम्बर १ देखि ७ सेप्टेम्बरसम्म मनाइँदै छ।

Skip This
Skip This
Logo